चिनियाँको दौडधुप काठमाडौंमा, माओवादीको दौडधुप दिल्ली

चिनियाँको दौडधुप काठमाडौंमा, माओवादीको दौडधुप दिल्ली

काठमाडौँ । कम्युनिष्ट पार्टीका नेताहरुले चीन भ्रमण लगभग सकेपछि चिनियाँ टोली नेपाल भ्रमणमा आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । तर, चिनियाँ टोली नेपाल भ्रमण आएकै दिन माओवादी केन्द्रको एक टोली भारत भ्रमणमा निस्किएको छ । बढ्दो विदेश भ्रमण र यसले के संकेत गर्दैछ ?

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ यतिबेला इटालीमा छन् । पहिलो कार्यकाल प्रधानमन्त्री बन्दा चीन भ्रमण गरेका प्रचण्ड पछिल्ला कार्यकालमा पहिलो भ्रमण भारतबाटै गर्नेमा दृढ देखिए । तर, चीनले भने निरन्तर आफ्नो चासो नेपालका कम्युनिष्ट पार्टीमा राख्दै आएको छ । अझं सशस्त्र युद्ध नै गरेर आएको माओवादी माओवाद पनि मान्ने भएकाले चिनियाँ चासो हुनु स्वभाविक नै थियो । यहि अनुसार चीनले माओवादी केन्द्र र अन्य कम्युनिष्ट पार्टीलाई निरन्तर छलफल सहकार्यका लागि पहल गर्दै आएको छ । यहि क्रममा नेपाल भ्रमणमा आएका युआन च्याले राष्ट्रपति रामचन्द्र पौडेल, कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटिसकेका छन् । यो टिमले प्रधानमन्त्री प्रचण्डसँग भर्चुअल माध्यमबाट वार्ता गरेको छ ।

यस्तै, चिनियाँ टोलीले माओवादी केन्द्रको पदाधिकारी टोलीसँग पनि भेटवार्ता ग¥यो । माओवादी केन्द्रको टोलीले चिनियाँ समाजवादको मोडलबारे चासो राखेको र नेपालका लागि पनि अनुकरणीय हुनसक्ने बताइसकेको छ । यसरी चिनियाँ टोली नेपाल भ्रमणमा व्यस्त रहँदै गर्दा माओवादी उपाध्यक्ष पम्फा भुसाल भने अर्को टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा निस्किएकी छन् । उनको टिम भारतीय जनता पार्टीको निमन्त्रणमा भारत गएको हो । उक्त टिममा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राई छन् ।

चिनियाँ नेताहरु नेपाल भ्रमणमै रहेको बेला माओवादी केन्द्रको टोली भारत निस्किएपछि अनेक कुराहरु सतहमा देखिन्छन् । तर, दुई देशका पार्टीहरुबीचको सम्बन्ध सुधारमा यसले भूमिका खेल्ने अपेक्षा पनि उत्तिकै छ । नेपालको आन्तरिक राजनीतिमा बढ्दो छिमेक चासो र नेपालका नेताहरुले गर्ने व्यवहारका कारण पनि जनतामा संशय पैदा हुने गरेको छ । केहि समय पहिलेदेखि नै सरकार परिवर्तनको हल्ला चलाएर छिमेकी मुलुकले यसमा हस्तक्षेप गर्न खोजेको भन्दै नेताहरु नै आरोप–प्रत्यारोपमा उत्रिएपछि छिमेकी मुलुकको भ्रमणमै प्रश्न र आशंका गर्न थालिएको छ ।

चिनियाँ नेताहरुको टोलीबाट ८० लाख युआन अर्थात नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा समेत भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग केरुङ–रसुवागढी–काठमाडौं रेल निर्माणमा जोड दिने कुरा समेत छलफल भएको छ । यसले चीन–नेपाल सम्बन्धमा थप उचाई दिने अपेक्षा गरिएपनि मुख्यतः नेताहरुको छिमेकी देशमा गरेको भ्रमणमाथि अनेक आशंका किन गरिन्छ ? यो आम प्रश्न हो । चिनियाँ नेताहरुको भ्रमण र भेटघाटले छिमेक सम्बन्धमा कस्तो प्रभाव पार्ला नेपालले कुटनीतिक मर्यादा कायम राख्दै नेपालको आफ्नो उपस्थिति बलियो बनाउला ? यस्ता प्रश्न सतहमा आएपनि उत्तर भने समयक्रमसँगै खुल्दै जानेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *