
काठमाडाैं । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको, गत असारसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रगति विवरणले अघिल्लो असारको तुलनामा गत असारमा तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ८ अर्ब रुपैयाँले बढेको देखाएको छ ।
गत आर्थिक वर्षमा मात्र १ खर्ब ४० अर्ब ८७ करोड ९९ लाख बराबर आन्तरिक र ६७ अर्ब ५० करोड २२ लाख बराबर बाह्य ऋण थपिएको छ ।
सरकारले तिर्न बाँकी कुल ऋणमध्ये बाह्यभन्दा आन्तरिक ऋण करिब ३५ अर्बले बढी छ । गत असारसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ७१ हजार ८ सय ५५ रुपैयाँ बराबर ऋण छ ।
भन्सारमार्फत राजस्व २२ प्रतिशतले घट्यो
गत आर्थिक वर्ष ०७९\८० मा आयात घट्दा भन्सारमार्फत सरकारलाई प्राप्त हुने राजस्व २२ प्रतिशतले घटेको छ ।
आयात गर्दा भन्सार महसुल, अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट)लगायतका शीर्षकमा आयातकर्ताले गत आवमा तीन खर्ब ७७ अर्ब २६ करोड राजस्व बुझाएका छन ।
जुन अघिल्लो आव ०७८\७९ को तुलनामा एक खर्ब पाँच अर्ब १७ करोड कम हो । आव ०७८÷७९ मा भन्सारमार्फत चार खर्ब ८२ अर्ब ४३ करोड राजस्व संकलन भएको थियो ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो आव ०७८\७९ मा १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको थियो ।
२१ अर्ब ७० करोडले घट्यो पेट्रोलियम पदार्थको आयात
पेट्रोलियम पदार्थको आयात गत आर्थिक वर्ष २०७८\७९ को भन्दा २२ अर्बले घटेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८\७९ मा ३ खर्ब २२ अर्ब १३ करोड बराबरको आयात भएको थियो । तर, आव २०७९÷८० मा ३ खर्ब ३१ करोड रुपैयाँ मात्र भएको छ ।
भन्सार विभागका अनुसार यो वर्ष ग्यास, पेट्रोल, हवाई इन्धन, मट्टितेल र डिजलको आयातमा मात्रै ३ खर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ । जसबाट सरकारले १ खर्ब ४ अर्ब १३ करोड ७६ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ ।
हवाई इन्धनको खपत यो वर्ष १७ लाख ६९ हजार ७७२ किलोलिटर, एलपी ग्यास २ करोड १५ लाख २४ हजार ६ सय ४७ किलोले घटेको छ ।
त्यस्तै, डिजलको आयात ३ लाख ४६ हजार ४३९ किलोलिटर र पेट्रोलको आयात ५७ हजार ७२९ किलोलिटरले घटेको भन्सार विभागले जनाएको छ ।
१९ अर्ब ९० करोड लागतमा जगदुल्ला हाइड्रोपावर बन्दै
डोल्पामा १९ अर्बभन्दा धेरैको लगानीमा १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजना बन्ने भएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनकाअनुसार डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा यो आयोजना निर्माण हुने भएको हो ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिडेटले निर्माण गर्ने आयोजनाको विद्युतीय क्षमता १ सय ६ मेगावाटको हुनेछ ।
वार्षिक औसत उर्जा ६१५.३२ गिगावाट घण्टा उत्पादन हुने उक्त आयोजनाबाट बताइएको छ ।
यसमध्ये सुख्खायाममा २ प्रतिशत र वर्षायाममा ५ प्रतिशत उत्पादन कम हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोजनाको अनुमानित कुल लागत १९ अर्ब ९० करोड १४ लाख ५४ हजार ३०३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रलाई ५ वर्ष चलाउन दिइने
चोभार सुख्खा बन्दरगाह सरकारले सञ्चालन गर्न नसकेपछि निजी क्षेत्रलाई यसको जिम्मा दिइने भएको छ ।
बन्दरगाहको सञ्चालन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले टेण्डर आह्वान गर्दै पाँच वर्षका लागि बन्दरगाह सञ्चालनमा दिइने जानकारी दिएको छ ।
सोमबार एक सूचना प्रकाशित गर्दै समितिले बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको जनाएको छ ।
उक्त सूचनाकाअनुसार ५ वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा नीजि क्षेत्रलाई दिने गरि टेण्डर आह्वान गरिएको हो ।
इच्छुक कम्पनीले आगामी ४५ दिनभित्र बोलपत्रका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन दिने कम्पनीहरुका लागि बन्दरगाह व्यवस्थापन तथा टर्मिनल व्यवस्थापन, वेयरहाउस, यातायात, क्लियरिङ एण्ड फरवार्डिङ लगायतका कामहरुमा कम्तीमा ५ वर्षदेखि संलग्न भएको र विगत तीन वर्षको औसत कारोबार कम्तीमा ६० लाख भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।