
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको चालु दोस्रो अधिवेशन र राष्ट्रियसभाको चौथो अधिवेशनका क्रममा प्रमुख विपक्षी दल नेकपा एमालेले पटक पटक संसद अवरुद्ध गर्दै आएको छ ।
बजेट पारित गर्नबाट अवरोध गर्नेदेखि सत्तारुढ दलका नेताले प्रतिपक्षी दलविरुद्ध कुनै अभिब्यक्ति दिएको विषय होस् वा भ्रष्टाचार प्रकरणका फाइल खोलिएको विषय, एमालेले तत्कालै संसदमा अवरोध गर्ने गरेको छ ।
संसद अवरोध गर्दै प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्रीहरुको राजीनामा माग्र्दै आएको एमालेले अहिले फेरि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेको छ ।
संघीय संसद अन्तर्गत अहिले प्रतिनिधिसभाको दोस्रो अधिवेशन चलिरहेको छ भने राष्ट्रिय सभाको चौंथो अधिवेशन । तर प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक नियमित कारबाहीमा कहिल्यै पनि अघि बढ्न सकेको छैन ।
कुनै न कुनै बाहनामा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध सिर्जना गरेपछि संसदका कामकारबाही प्रभावित हुँदै आएका छन् ।
राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेपछि सत्ताबाट बाहिरिएको एमालेले त्यसयता निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।
गत जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०\८१ को बजेट संसदमा पेश गरी पास नहुँदासम्म एमालेले बजेटमा असन्तुष्टी जनाउँदै पटक पटक संसदमा किचलो गरिरह्यो ।
त्यहिबेला सत्तारुढ माओवादीकै सांसदले पशुपतिको जलहरी काण्डबारे संसदमा कुरा उठाएपछि एमाले तत्कालै प्रतिवादमा उत्रियो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नै पार्टीका सांसदको अभिब्यक्ति समय सापेक्ष नभएको भन्दै एमालेलाई ढाडस दिएपछि संसद सूचारु भयो ।
त्यसपछि पुनः प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली पुगेको अभिब्यक्ति दिएपछि पुनः एमाले प्रतिवादमा उत्रियो ।
प्रधानमन्त्री प्रचण्डकै राजीनामा माग ग¥यो । त्यतिबेला पनि प्रचण्डले आफ्नो गल्ती भएको संसदको रोष्टममा उभिएर स्वीकारेपछि एमाले ब्याक भयो ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेपछि एमालेले पुनः गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागिरहेको छ । तर कुनै पनि विषयमा प्रष्टिकरण दिने मौकै नदिइ राजीनामा माग्नु ठीक नहुने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा होस् वा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण अथवा पशुपतिको जलहरी काण्ड होस् वा सय किलो सुन प्रकरणमा सरकारले गरेको कामप्रति आम नागरिकले भने वाहवाही नै गरेका छन् । तर प्रमुख विपक्षी दल एमालेले भने सरकारले भ्रष्टाचारको फाइल खोल्दा वा तस्करीमाथि कारवाही गर्दा सरकारको आलोचना गरिरहेको छ ।
आफू जिम्मेवार प्रतिपक्ष भनिरहँदा एमालेले भ्रष्टाचार र बेथितिका विरुद्धमा सरकारको कामको प्रशंसा गर्नुपर्नेमा पटक पटकको ब्यवधानका कारण मुलुकको सुशासनमा एमालेको भूमिकाबारेमा प्रश्न खडा गरिरहेको छ ।