पोखरा । पोखरा महानगरको स्वास्थ्य महाशाखामा ३ सय ३४ स्वास्थ्यकर्मी छन् । उनीहरु महानगरका ३३ वटै वडामा खटिएका छन् । यीमध्ये केही कोरोना र अन्य समयमा महानगरलाई आवश्यक परेको समयमा विभिन्न स्वास्थ्य संस्थाबाट आएर काम गरिरहेका छन् । अहिले आएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामकाजमा रहेको स्वास्थ्य कर्मचारी दरबन्दी रहेकै स्थानमा फर्कन परिपत्र गरेको छ ।
मन्त्रालयले असार २५ गते नै मन्त्रालय मातहतका सबै निकाय, सातै प्रदेश र सबै स्थानीय तहलाई दरबन्दी भएका ठाउँमा फर्कन सूचना जारी गरेको थियो । साउन १ गतेदेखि नै साविककै कार्यालयमा फर्कन गरेको सूचना नमानेपछि साउन ८ गते पुनः मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।
साउन ८ गते मन्त्रालयले गरेको पत्राचारको बेवास्ता गर्दै पोखरा महानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखामा कार्यरत कर्मचारी अझै काजमा फर्किएका छैनन् । पोखरामा ५७ जना कर्मचारी स्वास्थ्य महाशाखाबाट टाढिने छन् । जसमा ३७ जना कामकाज गर्न आएको, ११ जना पदस्थापन भएर पनि नगएका र ९ जना दरबन्दीभन्दा बढी तर काममा बसेका स्वास्थ्यका कर्मचारी रहेको स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले बताए ।
उनीहरुलाई असार २३ गतेको महानगरको २० औं कार्यपालिका बैठकले नै दरबन्दी रहेको स्थानमा पदस्थापन गर्न आदेश दिइसकिएको महानगरका सूचना अधिकारी किरणप्रसाद कोइरालाले जानकारी दिए । सो समयमा ५७ जना यकीन गरेर प्रक्रिया अघि बढाएको उनले सुनाए ।
काजबाट कर्मचारी फिर्ता भए महानगरको स्वास्थ्य सेवा नै प्रभावित हुने दाबी
कार्यपालिकाको बैठक अनुसार दरबन्दी खुला गर्ने र भएका स्वास्थ्यका कर्मचारी दरबन्दी भएको ठाउँमा पठाउने निर्णय भएकोमा एउटा प्रक्रिया अघि बढेको तर अर्को रोकिएको महाशाखा प्रमुख आचार्यले बताए । ‘महानगरले निर्णय गरे अनुसार खाली भएको ठाउँमा पदपूर्ति गर्ने भनेर विज्ञापन पनि गरेको थियो,’ उनले भने, ‘विज्ञापन खुलाएर खाली भएको ठाउँमा राख्ने र कामकाज गर्न आएका लागि दरबन्दी भएको ठाउँमा पठाउने निर्णय भएको थियो । त्यसमा एउटा कार्यान्वयन भयो अर्को भएन । जसले समस्या जटिल हुदै गएको छ ।’
यसले गर्दा महानगरको स्वास्थ्य संस्थाहरुमा समस्या देखिने उनको भनाइ थियो । ‘पदपूर्ति प्रक्रिया पनि रोकिने अनि फिर्ता पनि जाने गर्दा १ सय जना कर्मचारी अभाव हुँदैछ,’ स्वास्थ्य महाशाखा प्रमुख आचार्यले भने, ‘कर्मचारी अभाव भएपछि नागरिकहरु आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्था अवस्था आउँदैछ ।’
काजबाट फर्कन पनि समस्या रहेको उनले बताए । पोखरा महानगरबाट रमाना बुझेर कहाँ जाने भन्ने मै अन्यौल रहेको उनको भनाइ थियो । डेंगु, झाडापखलाको समयमा कर्मचारीहरुलाई रमाना दिएर पठाउँदा समस्या हुने देखिन्छ । अर्कोतर्फ उनीहरुको स्थानमा अरु नै स्वास्थ्यकर्मीहरु भर्ना भइसकेको काजमा जानुपर्नेहरु बताउँछन् । पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुख आचार्य आफै काजमा फर्कनुपर्ने हुन्छ । किनभने उनी आफै पनि स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशबाट महानगरमा आएका हुन् । उनीसँगै अन्य स्वास्थ्यकर्मीहरु लमजुङ, बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, गोरखा, नवलपुर, तनहुँ, सिन्धुपाल्चोकका विभिन्न पालिकामा दरबन्दी रहेर पोखरामा काम गरिरहेका छन् ।
पोखरामा काम गरिरहेका स्वास्थ्यकर्मीका स्थानमा लोकसेवाबाट कर्मचारी पदपूर्ति भइसकेको प्रमुख आचार्यले बताए । ‘सम्बन्धित तत्तत् ठाउँमा जान पनि लोकसेवा आयोगबाट परिपूर्ति भइसकेको अवस्था छ । उहाँहरु त्यहाँ जाँदा पनि धेरैले हाजिर गर्न पाउनुहुन्न,’ उनले भने, ‘अवस्था जटिल हँुदैछ । उनीहरु जानेबित्तिकै पोखराको स्वास्थ्य संस्थाहरुमा समस्या हुन्छ ।’