- सुशिला कार्की
दोलखा । पशुहरु बिरामी पर्दा उपचार गर्न भनेर दोलखाको चरिकोटमा खोलिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र आफै बिरामी अवस्थामा छ । अस्पतालमा पर्याप्त भौतिक पूर्वाधारको अभावमा पशुलाई राखेर उपचार गर्ने ठाउँ छैन् भने पशु जाँचको लागि चाहिने ल्याव र एक्सरे मेसिन पनि झोलामा बोकेर हिड्नुपर्ने अवस्था छ ।
दोलखा र सिन्धुपाल्चोक जिल्ला हेर्ने एक मात्र जिल्ला पशु अस्पताल अहिले जिर्ण अवस्थामा पुगेको छ । दोलखाको चरिकोटमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थितिले यसले गर्न सक्ने कामको अवस्था कति कमजोर छ होला बुझाउछ । अस्पतालमा न त दैनिक उपचारको लागि ल्याइने पशुहरुलाई राखेर उपचार गर्ने ठाउँ छ न त बिरामी पशुहरुलाई छुट्टाछुट्टै राखेर उपचार गर्ने व्यवस्था छ । सबै पशुहरुलाई एकै ठाउँमा राखेर उपचार गरिदाँ उल्टै रोग एकअर्कामा सर्ने जोखिम उच्च छ । त्यसैले पनि उपचारको लागि लगिएका पशुहरु थप सरूवा रोग लागेर आउने र घर तथा फार्मका सम्पूर्ण पशुपंक्षी संक्रमित हुने त्रास किसानहरुमा छ । अस्पतालमा उपचार र परिक्षणको लागि प्रयोग गरिएका उपकरणहरु पनि राख्ने ठाँउ छैन ।
अस्पताल प्रशासनका अनुसार पटकपटक अस्पतालको भौतिक पूर्वाधार निमार्ण र क्षमता विस्तारको लागि बजेट आउँदा पनि भिमेश्वर नगरपालिकाले स्वीकृत नगर्दा वजेट फ्रीज भएको छ । नेपाल सरकार कृषि तथा पशु विकास मन्त्रालयबाट भवन निर्माणको लागी आर्थिक वर्ष ०७८/७९ को १ करोड, ०७९/८० मा कृषि तथा पशु बिकास मन्त्रालय बाट १ करोड ५० लाख र सहरी बिकास तथा भवन कार्यलय धुलिखेलबाट ८० लाख वजेट बिनियोजित भएको थियो । तर नगरपालिकाले भवनको नक्सा स्विकृत नगरिदिदाँ ती वजेटहरु कामै नभइ फ्रिज हुन पुगेको छ । नरगरपालिकाले कार्यालयको २ हजार २२० वर्ग मिटर जग्गामा आँखा गाडेपछि उसले पशु अस्पताल निमार्णको लागि अनुमति नदिएर वजेट फ्रिज गराएको कार्यालयको आरोप छ ।
पशु अस्पताल परिसरकै जग्गामा बसपार्क बनाउने योजना नगरपालिकाले गरेकाले पनि स्थिति समस्याग्रस्त हुँदै गएको छ। यस अघि बसपार्क बनाउन छुट्याएको जग्गामा भने सपिङ्ग कम्प्लेक्स बनाएको छ । यसरी हेर्दा अस्पताललाई सुविधा सम्पन्न बनाउन सहयोग गर्ने होइन बरु त्यसक्षेत्रमा आफु अनुकुलको योजना राख्न चाहन्छ नगरपालिका ।
चरिकोटको मध्यभागमा रहेको सो स्थान अस्पतालको लागि नभएर मोटरसाइकल तथा सवारी साधन पार्किङको लागि उपयुक्त हुने भन्दै नगरपालिकाले कृषि तथा पशु बिकास मन्त्रालयमा पत्र पनि पठाएको छ । तर उक्त स्थान सबै क्षेत्रका किसानहरुलाई पायक पर्ने ठाउँ रहेकोले तथा पशुपन्छि उपचार गरेर घर फर्कन भ्याइने भएको अस्पताल भवननै निमार्ण हुनुपर्ने किसानहरुको माग रहेको छ ।