पोखरा । कास्की मोडनाइज्ड एकेडेमी र कक्षा १२ का विद्यार्थीको संयुक्त व्यवस्थापनमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम भएको छ । व्यवस्थापन, विज्ञान र होटेल म्यानेज्मेन्टमा भर्ना भएका विद्यार्थीको सम्मानमा सो कार्यक्रम गरिएको हो ।
विद्यार्थीलाई स्वागत गर्दै संस्थापक प्राचार्य रामबहादुर मोचीले अहिलेको अवस्थामा पढाइमात्र होइन, खेलकुद, कला, नृत्य, संगीत, नाटक सबै क्षेत्रमा विद्यार्थीलाई सबल बनाउनुपर्छ भनी सोहीखालका कक्षासमेत सञ्चालन गर्दै आएको बताए । उनले अब विद्यालयलाई राष्ट्रको एक नमुना विद्यालय बनाउने दृढता प्रकट गरे ।
शिक्षकहरु सुशील अधिकारी र खेम चालिसेले प्रत्येक विषयको आ–आफ्नो प्रकृति, भविष्य र सफल ढंगको अध्ययन पद्दतिबारे प्रकाश पारे । विद्यालयका सहप्रिन्सिपल एवं प्लस टु को–अर्डिनेटर शिवलाल उपाध्यायले सिंगो विद्यालयको नीति, नियम, संस्कार, अनुशासन र अरु विद्यालयभन्दा कास्की मोडनाइज्ड किन फरक भन्ने विषयबारे बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीले विद्यालय र शिक्षकले मल, जल र ख्याल पु¥याउने हो तर स्वयं विद्यार्थीले नै मेहनत गर्नुपर्ने बताइन् । सो अवसरमा विद्यार्थीको पढाइ र गन्तव्य पहिल्याउने बारेमा गर्नुपर्ने विषयबारे वरिष्ठ प्रशिक्षक दीपक बास्कोटाले प्रशिक्षण दिए ।
सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा कक्षा १२ का कृपा थापा र कञ्चन थापा र शिक्षक इन्द्र भुषालले स्वागत मन्तव्य राखे भने कक्षा ११ की छात्रा आयुषा बास्तोलाले धन्यवाद ज्ञापन गरेकी थिइन् । विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन शिक्षक शिवु ढकालले गरेका थिए ।