
काठमाडौँ । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध कायम राखेको छ । सोही कारण उक्त बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा पनि संसद अवरोध गरेको हो । बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यति ठूलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए ।
यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि तिनलाई कानूनको दायरामा ल्याउनुपर्ने माग गर्दै उनले सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरु बाहिर आइरहेको बताए । उनले सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएसम्म संसद अघि बढ्न नदिने बताए ।
साउन २२ गते दिउँसो १ बजे बस्नेगरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।