- खेम ढुंगाना
धनगढी । सुदुरपश्चिम आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्टले प्रदेश संरचनाका बारेमा प्रश्न उठाए संघीयतालाई नै खतरा हुने बताएका छन् ।
बैतडी समाज कैलालीले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन ।
‘अहिले प्रदेश संरचनाका बारेमा विरोध सुरु हुन थालेको छ । यसका बारेमा प्रश्न पनि उठाउन थालिएको छ, तर प्रदेश संरचनाका बारेमा विरोध भएमा त्यसले संघीयतालाई नै असर पर्छ,’ उनले भने, ‘संघीयतालाई असर पर्ने वित्तिकै संविधानलाई असर पर्छ संविधानलाई असर पर्ने वित्तिकै हामीले प्राप्त गरेको उपलब्धी गुम्ने खतरा रहन्छ ।’
मन्त्री भट्टले प्रदेश सरकारले जनमुखी कामहरु गरेर जनताको मन जित्नुपर्ने पनि उल्लेख गरे ।
उनले भने, ‘जनभावना अनुसार प्रदेश सरकारले काम गर्नुपर्छ । म मेरो जिम्मेवारी जनभावना अनुसार निभाउने प्रयास गर्नेछु।’
विकास निर्मार्णको बजेट आफ्नो मन्त्रालयमा नभएपछि कानून बनाएर विधीको शासनका लागि प्रयास गर्ने मन्त्री भट्टको भनाई थियो ।
‘अझै कतिपय जनमुखी कानूनहरु निर्माण भएका छैनन । जस कारण जनताको पक्षमा काम गर्न कठिनाई भएको छ, त्यसैले मेरो प्रयास जनमुखी कानून निर्माणमा रहनेछ’ मन्त्री भट्टले भने ।
बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको स्वागत तथा सम्मान कार्यक्रममा समाजका सदस्य केशव दत्त पाण्डेसहितको टिमले मन्त्री भट्टलाई बाजागाजा सहित समाजको सचिवालयमा स्वागत गरिएको थियो ।
तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको असार ५ गते सडक दुर्घटनामा निधन भएको भएपछि विहीबारमात्रै भट्ट आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।
भट्ट बैतडी निर्वाचन क्षेत्र २ बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।




