हेमजा । एम्बुलेन्सको निशुल्क हटलाइन नम्बर १०२ मा सोमबारसम्म फोन लाग्ने थिएन । नेपाल टेलिकम र व्यवस्थापन प्रणालीमा विभिन्न समस्या आएको कारण जनताले चाहेकोजस्तो सेवा पाएका थिएनन् । तर एम्बुलेन्सको उक्त निशुल्क हटलाइन नम्बर भने मंगलबारदेखि सञ्चालनमा आएको छ ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय स्वामित्वमा रहेर उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
मंगलबार सेवा उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले उक्त नं.मा फोन गरेर प्रदेशवासीले सेवा लिन सक्ने बताइन् ।
उनले अहिले गण्डकी प्रदेशमा क र ख वर्ग गरी विभाजन गरेर एम्बुलेन्स सञ्चालनमा ल्याइएको स्पष्ट पार्दै क वर्गको एम्बुलेन्समा आइसियुससहितको सेवा हुने साथै ख वर्गको एम्बुलेन्समा तालिम प्राप्त स्वास्थ्यकर्मी रहने उल्लेख पनि गरिन् ।
हाल गण्डकी प्रदेशभर विभिन्न संस्थासँग आबद्व १ सय २२ एम्बुलेन्स रहेकोमा ३८ वटा निरन्तर १०२ को सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । अन्यमा जिपिएस जडान गरेर सेवा जोड्ने प्रक्रिया अघि बढिरहेको पनि डा.नारायण श्रेष्ठले जानकारी दिए ।
उनले हटलाइन शाखामा अहिले जनशक्ति कम भएको कारण केही समस्या आएको र अबको केही दिनमा नै जनशक्ति थप गरी समस्या समाधान गर्ने स्पष्ट पनि पारे ।
मन्त्रालयअन्तर्गत स्वास्थ्यतर्फ सचिव विनोदविन्दु शर्माले उक्त सेवालाई समयसापेक्ष अझै प्रभावकारी बनाउँदै लैजान सकिने धारणा राखे ।