एमालेको नाराबाजीपछि संसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित

एमालेको नाराबाजीपछि संसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि निर्धारित सबै कार्यसूची हटाइएका छन् भने बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अवैध सुन तस्करी प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेकोे बताए। उनले आफ्नो भनाइ राखिरहँदा सत्तापक्षका सांसद पनि आफ्नो आसनबाट उठेका थिए।

सांसद थापा बोलिरहेकै बेला सत्तापक्षका सांसद पनि उठेपछि सभामुख देवराज घिमिरे उनीहरुलाई बस्न आग्रह गरेका थिए। सत्तापक्षका सांसदले आसन ग्रहण गरेपछि एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए।

यही साउन २ गते सिनामङ्गलबाट बरामद भएको अवैध सुन भित्रिएको विषयमा छानबिन समिति बनाउनुपर्ने एमालेले माग राखेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले सुन तस्करीसँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भइरहेको र सदनलाई गृहमन्त्रीले जवाफ दिइसकेकाले सदन सञ्चालनमा सहयोग गर्न एमाले सांसदहरुलाई आग्रह गरेका थिए।

उनले भने, “संसद् जनताका आवाज उठाउने थलो हो । अहिले बाढीपहिरोका घटनालगायत संसद्मा उठाउनुपर्ने अन्य थुप्रै विषय छन् । ” उनले संसद्को नियमित कारबाही अगाडि बढाउन आग्रह गरे पनि एमाले सांसदले नाराबाजी गर्दै अवरोध कायम राखेपछि आजको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *