
फाइल तस्बिर
महानगरका मेयर आचार्य, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल र चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेल र हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठबीच समझदारी भएको हो । मुलुकका विभिन्न भागमा फैलिइरहेको आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेको छ । संक्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरणसम्बन्धी समझदारी गरिएको मेयर आचार्यले बताए ।
भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगसँग सम्बन्धित बिरामीले यसको लाभ लिन सक्ने उनी बताउँछन् । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरपालिकासँग सहकार्य गरी सित्तैमा उपाचार गरिएको निर्देशकद्वय पौडेल र पोखरेलले बताए ।
बुधबारदेखि साउन मसान्तसम्म यो सुविधा उपलब्ध छ । बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ ।
महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । अस्पतालकी मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठले ओपिडी टिकटको शुल्क नलाग्ने अरु सेवाको भने शुल्क तिर्नुपर्ने जानकारी दिइन् । आँखा अस्पतालमा बुधबार १ हजार १ सय ९० बिरामी उपचारका लागि आएकोमा १ सय ९० जनामा यो समस्या देखिएको उनले बताइन् ।
महानगरपालिकाले रोगको संक्रमण नफैलियोस् भनी बुधबारदेखि शुक्रवारसम्म मातहतमा सबै विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरिसकेको छ । विद्यालयहरू संक्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको छ ।