राजनीतिक किचलोकाबीच सीआईबीको अनुसन्धान कायमै

राजनीतिक किचलोकाबीच सीआईबीको अनुसन्धान कायमै

काठमाडौं । राजश्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ठूलो परिमाणको सुन सिनामंगलबाट बरामद गरेको थियो । राजश्वले बरामद गरी अनुसन्धान थालेको यो प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको छ ।

सीआईबीको अनुसन्धानकै क्रममा शुक्रबार थप २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् भने ब्यापारी राकेश अडुकियाका छोरा समातिएका छन् ।

साउनको पहिलो साता त्रिभुवन विमानस्थलबाट चेकजाँच भई बाहिरिएको झण्डै एक क्वीन्टल परिमाणको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेपछि राजनीतिक कचिङगल चलिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै आएको छ । एमालेले सुन प्रकरणमा सरकारकै संलग्नता रहेको दाबी गर्दै सदन अवरोध गरिरहँदा थप अनुसन्धानको जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आफ्नो अनुसन्धान कायमै राखेको छ ।

शुक्रबार मात्रै दुई चिनियाँ नागरिक र ब्यापारिक राकेश अडुकियाका छोरा रोहन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

हिमालय एयरलाइन्सको जहाजबाट चीन भाग्न लाग्दा चिनियाँ नागरिक लिजिया लिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो । अध्यागमनले दुवै चिनियाँ नागरिकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ भने भारतको नयाँ दिल्ली हुँदै इन्डिगो विमानबाट काठमाडौं आइपुगेका रोहनलाई सुन प्रकरणकै अनुसन्धानका क्रममा पक्राउ गरि राजश्व अनुसन्धान विभागमा बुझाइएको छ ।

सुन प्रकरणमा यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक चिनियाँ, एक तिब्बती मूलका बेल्जियममा नागरिक र एक जना भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीकै संलग्नता रहेको आशंका गर्दै प्रमुख विपक्षी दल एमालेले संघीय संसदको दुवै सदनमा अवरोध गर्दै आएको छ भने सत्तारुढ दलकै केही सांसदहरुले पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन २३ गते संसदमा धारणा राखेपछि पुनः एमालेले संसद अवरोध गरेको थियो ।

सुन प्रकरणमा सत्तारुढ दलकै नेताहरु पनि मुछिएको भन्दै छुट्टै छानबिन समिति बनाइनुपर्ने विपक्षी दलले माग गरे पनि सरकारले सीआईबीको अनुसन्धानपछि मात्रै छानबिन समिति बनाउनु उपयुक्त हुने तर्क गर्दै आएको छ ।

तत्कालै छानबिन समिति बनाइदा जारी अनुसन्धान प्रक्रिया अवरुद्ध हुन सक्ने सरकारको भनाई छ ।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयमा चेकजाँच भई बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुन बरामदपछि राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेकोमा गत साउन २२ गतेदेखि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

बरामद गरिएको सुनसहितको ‘ब्रेक शु’भने राष्ट्रबैंकमा राखिए सुन गालेर यकिन परिमाण निकाल्ने काम भने अझै भएको छैन । राजनीतिक दलहरुबीचकै किचलोका कारण अनुसन्धान प्रक्रिया नै प्रभावित हुनसक्ने आशंका पनि उत्तिकै छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *