नेपाल विश्व अर्थतन्त्रको ९८ औं स्थानमा, निर्माण व्यवसायीको आन्दोलन जारी (अर्थरफ्तार)

नेपाल विश्व अर्थतन्त्रको ९८ औं स्थानमा, निर्माण व्यवसायीको आन्दोलन जारी (अर्थरफ्तार)

काठमाडौं । पछिल्लो समय नेपालको अर्थतन्त्र विश्व अर्थतन्त्रको आकारमा केहि सुधार देखिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का अनुसार सन् २०२३ मा नेपालले विश्व अर्थतन्त्रको आकारमा ९८औं स्थानमा परेको छ ।

यसअघि १००औं स्थानमा थियो । यस्तै, आइएमएफ काअनुसार नेपालको अर्थतन्त्रको आकार बढेर ४२ अर्ब अमेरिकी डलर बराबर पुगेको छ ।

गत वर्ष नेपालको अर्थतन्त्रको आकार ३९ अर्ब अमेरिकी डलरबराबर थियो । एक वर्षमा नेपालको अर्थतन्त्रको आकार झन्डै ३ अर्ब डलर बढेको देखिन्छ । यो समग्रमा विश्व अर्थतन्त्रको शून्य दशमलव शून्य ४ प्रतिशत हिस्सा हो ।

साइबर सुरक्षामा सरकारको जोड

सरकारले साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न फिनिशिङ स्कुल खोल्ने भएको छ । हालै मन्त्रिपरिषद्बाट स्वीकृत राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० मा फिनिशिङ स्कुलको व्यवस्था गर्ने उल्लेख छ ।

उक्त नीतिमा साइबर सुरक्षा सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्न साइबर सुरक्षाको क्षेत्रमा कार्य गर्ने संघ संस्थासँगको सहकार्यमा साइबर सुरक्षा फिनिशिङ स्कुलको व्यवस्था गरिने उल्लेख छ ।

त्यस्तै सरकारले विद्यालय र उच्च शिक्षाको पाठ्यक्रममा साइबर सुरक्षासम्बन्धी विषय समावेश गर्ने कार्यक्रम पनि समावेश गरेको छ ।

यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्ने, साइबर सुरक्षासम्बन्धी अध्ययन, नेपालमा कम्प्युटर आकस्मिक सहायता समूहको क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रम उक्त नीतिमा समेटिएको छ ।

थप तीन कम्पनीहरूलाई ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप तीन नयाँ कम्पनीहरूलाई ब्रोकर लाइसेन्स वितरण गरेको छ । जसअन्र्तगत जेबिएनएल सेक्यूरिटिज लिमिटेड, आरविवि सेक्यूरिटिज लिमिटेड र सिविआईएल सेक्यूरिटिज लिमिटेडलाई नयाँ ब्रोकर लाइसेन्स दिइएको छ ।

साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले सीमित कार्य गर्ने गरी पूँजी कायम गरेका कम्पनीहरूलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार नयाँ कम्पनिलाई लाइसेन्स वितरण गरिएको बोर्डले जनाएको छ । यससंगै अहिलेसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स प्राप्त गरेका छन् ।

एनसेल गर्यो टेरामक्स प्रणाली जोड्न अस्वीकार

एनसेलले टेरामक्स प्रणाली जोड्न अस्विकार गरेको छ ।

निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेल आजिएटाले एक विज्ञप्ति जारी गर्दै अहिले टेरामक्सबारे व्यापक रुपमा विवाद भइरहेकाले विवाद साम्य नभएसम्म जोड्न नसकिने जनाएको हो ।

टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन भइरहेको पनि एनसेलले जनाएको छ ।

कल डिटेल, एसएमएस लगायत अति व्यक्तिगत विवरण संकलन हुने भएकाले गोपनीयताको विषय जोडिएर पटक–पटक विवादमा आएको टेरामक्स प्रविधि तत्काल कार्यान्वयनमा ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई साउन ८ मा पत्र पठाएको थियो ।

साउन १८ मा उक्त प्रविधि कार्यान्वयनमा नआए कुनै पनि सहजीकरणमा सहयोग नगर्ने चेतावनी प्राधिकरणले दिएको थियो ।

निर्माण व्यवसायीको आन्दोलन जारी

सरकारले काम गरेको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरुले शुक्रबार पनि विरोध प्रदर्शन गरेका छन् ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत नेपाल निर्माण व्यवसायी महांघको अगुवाईमा निर्माण व्यवसायीहरुले काठमाडौंको नयाँ बानेश्वर, माइतिघर मण्डला र अनामनगर लगायतका क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सरकारले तत्काल करिब ५० अर्ब रुपैयाँ भुक्तान गर्नुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप, मूल्य समायोजन, निर्माणमैत्री ऐन नियम लागू, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन गर्नुपर्ने लगायतका मागहरु व्यवसायीले राखेका छन् ।

यस्तै निर्माण व्यवसायीहरूले साउन १४ देखि निरन्तर आन्दोलन कार्यक्रमहरु गर्दै आएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *