
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् । साथै उनले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी समेत दिएका छन् ।
संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । उनले पुच्छरले कुकुर हल्लाएजस्तो भुमिकामा संसदको सबैभन्दा ठूलो दल काँग्रेस रहेकोमा आफू छक्क परेको बताए । गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले काँग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भन्दै प्रश्न समेत सोधे । अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल काँग्रेसमाथि आफूहरुले टिप्पणी समेत नगर्ने बताए ।
‘देशको सबभन्दा ठूलो पार्टी नेपाली काँग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन,’ उनले भने, ‘उहाँहरुले कसको पछाडि आफूलाई लगाउनुभएको हो, के को पछि लाग्नुभएको हो ? त्यो उहाँहरुले जान्ने कुरा हो । म केही पनि भन्दिन । मेरो कुनै कमेन्ट छैन । २०१५ सालको संसदमा एक पल्ट केदारमान व्यथितजीले होला । पुच्छरले कुकुर हल्याउने कि कुकुरले पुच्छर हल्लाउने भनेर प्रश्न गर्नुभएको थियो । नेपाली काँग्रेसका साथीहरुलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ । पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली काँग्रेस डोलायमान छ । त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरुको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन । तपाईहरुलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईहरुलाई मन लागुन्जेल । लागेन भने बेग्लै कुरा हो ।’
अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न भन्दै प्रधानमन्त्री प्रचण्डलाई पनि चेतावनी दिए । उनले सांसद सुनिल शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफू बिरुद्ध नबोल्न तर्साएको आरोप समेत लगाए ।
उनले भने, ‘मैले अस्ति प्रधानमन्त्रीजीलाई भने– अहिले यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति उहाँले शुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ शुरु भयो । उहाँहरुले बुझ्नुपर्दछ, यो त सुरु भयो । यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन । जाली सर्टिफिकेट हो भने त पोहोर, परार पनि थियो होला नि । हिजोदेखि थियो होला नि जाली सर्टिफिकेट । किन मुद्दा नचलाएको, कारबाही नगरेको ? अस्ती पार्लियामेन्टमा सुनकाण्डबारे विरोध गरेपछि अचानक हत्कडी लगाउने आयो मान्छे ।’
ओलीले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकार गम्भीर नभएको जिकिर समेत गरे ।