नेपालबाट १० करोडको अचार निर्यात, भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री महतले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, भन्सार छली र अवैधानिक काम नहोस् भन्नेमा सतर्क रहन पनि उनले निर्देशन दिएका छन् ।

पहिलो महिनामै पूजीँगत खर्च कमजोर

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा सरकारले पूँजीगत बजेट २० करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । बजेट कार्यान्वयनको पहिलो महीनामै सरकारले गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा कमजोर रूपमा पूँजीगत बजेट खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षको साउन २५ सम्ममा सरकारले पूँजीगत शीर्षकको बजेट ६२ करोड २९ लाख खर्च गरेको थियो । सरकारले यसै महिनामा बजेट कार्यन्वयनसम्बन्धी मार्गदर्शन ल्याएको पनि छ तर, पहिलो महिनाको बजेट परिचालनको हिसाबले खासै परिणाममुखी हुने देखिएको छैन ।

१० करोड बढीको अचार निर्यात

आर्थिक वर्ष ०७९/८० मा नेपालबाट १० करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार एक आर्थिक वर्षमा १ लाख ६० हजार ६७२ किलो अचार निर्यात भएको हो । मुलुकबाट सबैभन्दा बढी अचार अमेरिकामा ३ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ । कोरियामा १ करोड ६८ लाख ९४ हजार, जापानमा १ करोड ६६ लाख ७६ हजार र अस्ट्रेलियामा १ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो । बेल्जियम, क्यानडा, हङकङ, इटाली र लन्डनमा समेत नेपाली अचार निर्यात भएको विभागले जनाएको छ ।

हेलिकोप्टर उडानमा रोक

समयमै विमानस्थल सेवा शुल्क नतिर्ने सबै हेलिकोप्टर कम्पनीको व्यावसायिक उडान रोकिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पटक–पटक ताकेता गर्दा पनि बक्यौता बुझाउन अटेर गरेपछि हेलिकोप्टर कम्पनीको उडान शुक्रबारदेखि रोकेको हो । माउन्टेन, प्रभु, फिस्टेल, सिम्रिक, मनाङ, मुस्ताङ, अन्नपूर्णलगायत हेलिकोप्टर कम्पनीले क्यानलाई विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने सेवा शुल्क बुझाउन बाँकी छ । वित्तीय संकटमा परेका वायुसेवा कम्पनीले सेवा दिँदा उसले जहाजको नियमित मर्मत–सम्भार, पार्टपुर्जा फेरबदल, पाइलट तथा कर्मचारीको तलबभत्ता, तालिमलगायतमा खर्च गर्न कन्जुस्याइँ गर्ने र उडान सुरक्षामै गम्भीर समस्या निम्त्याउन सक्ने क्यानको ठहर छ ।

फाइनान्सहरूको औसत खराब कर्जा साढे पाँच प्रतिशत

फाइनान्स कम्पनीहरूमा १९ प्रतिशतसम्म कर्जा खराब देखिएको छ भने, औसत खराब कर्जा पाँच दशमलव ६९ प्रतिशत रहेकोे छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्येमा हालसम्म १५ वटा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/०८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा तीनवटा नेपाल फाइनान्स, गोर्खाज फाइनान्स र मल्टीपर्पस फाइनान्सबाहेक सबैको खराब कर्जा बढेको छ । सबैभन्दा बढी खराब कर्जा जानकी फाइनान्समा देखिएको छ भने सबैभन्दा कम मल्टीपर्पस फाइनान्सको छ । जानकीको १८ दशमलव ६५ प्रतिशत खराब कर्जा छ भने मल्टीपर्पसको शून्य दशमलव ७९ प्रतिशत रहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top