
काठमाडौँ । कांग्रेस संसदीय दलको बैठकमा सरकारको समिकरण फेर्नेदेखि गृहमन्त्रीको राजीनामा सम्मका प्रशंग उठिरहेका छन् । क्विन्टल सुन तस्करी प्रकरणमा विपक्षीले उच्चस्तरीय छानविन समितिको माग गरिरहेको बेला कांग्रेसभित्रै संस्थापन इतर पक्षले समेत उही मागलाई बल पुग्नेगरि बहस अघि बढाएको छ । तर, सरकारले भने अनुसन्धानमा राज्यकै संयन्त्रहरु लागिपरेको भन्दै छुट्टै संयन्त्र आवश्यक नभएको बताउँदै आएको छ । सत्ता समिकरणमै असमझदारी पैदा गर्ने देखि प्रतिपक्षीको आक्रामकता बढाउन सुन तस्करीको मामिला कारक बनेको छ ।
कांग्रेस संसदीय दलको बैठकमा संस्थापन इतर पक्षले सरकारको समिकरण फेर्ने विषयलाई चर्को बनाउदै लगेको छ । प्रचण्डलाई समर्थन गरिरहन नसकिने भन्दै संस्थापन इतर पक्षले आवाज उठाइरहँदा संस्थापन पक्षले भने सरकार फेर्ने विषयमा प्रवेश गर्न चाहेको देखिन्न । कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकले सरकार फेर्ने विषयमा छलफल नभएको प्रष्ट पारेका छन् ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँच गरी बहिरिएको सुनसहितको १ सय ५० किलो तौलको मोटरसाइकल तथा स्कुटरको ‘ब्रेक शु’ राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । झण्डै एक सय किलो सुन रहेको बताइएपनि ब्रेक शु बाट छुट्टाएर सुनको यकिन परिमाण अहिलेसम्म निकालिएको छैन । तर अहिलेसम्मकै ठूलो परिमाणको सुन बरामदको विषयले सत्ता राजनीति भने तातिरहेको छ । यहि विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेदेखि संसद चल्न दिएको छैन ।
एमालेका कारण कहिले संसद अवरुद्ध त कहिले सूचना टाँस गरी संसद बैठक स्थगन गर्ने गरिएको छ । पछिल्लो समय विपक्षी दलसँग छलफल गरी निकास खोज्ने तयारी सरकारले गरिरहँदा कांग्रेस संस्थापन इतर पक्षका नेताहरु एमालेकै लय समाउन थालेका छन् । यही विषयमा संसद अवरुद्ध भइरहँदा सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेकाले राजीनामा दिनुपर्ने माग गरेका कांग्रेस सांसद सुनिल शर्मा तीन दिनअघि ‘नक्कली सर्टिफिकेट’ प्रकरणमा समातिएर छाडिए । तर शर्माको पक्राउको विषयलाई लिएर कांग्रेस संस्थापन इतर पक्ष झस्किएको छ ।
शर्मालाई सरकारले प्रतिशोध साँधेको आशंका गर्दै आएका कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस संसदीय दलको आइतबारको बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । एमालेले सोही माग राख्दै अहिलेसम्म संसद अवरुद्ध गर्दै आएको छ ।
प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति नै अहिले राजश्व अनुसन्धान विभागमा छन् । त्यसैमा कोइरालाले खोट देखिरहेका छन् । क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कोइरालाको भनाई छ । क्वीन्टल सुन बरामदको घटनापछि कांग्रेस संस्थापन पक्षसँग इतर पक्ष रुष्ट बन्न थालेको छ । उसले यही असन्तुष्टिलाई लिएर कांग्रेससहितको सरकारको कामबारबाही माथि समेत प्रश्न उठाउन थालेको छ ।
आफ्नै सरकारले आफ्नै पार्टीका सांसदलाई अपहरणको शैलीका पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेको इतर पक्षले लुम्बिनी विकास कोषमा ल्हारक्याल लामालाई कार्यकारी उपाध्यक्ष नियुक्ति गरेको विषयसमेत उठाउन थालेको छ । सत्तारुढ घटक भित्रै एकपछि अर्को विषय प्रवेश गरी असन्तुष्टि बढ्दै जाँदा गठबन्धन सरकारको भविष्य पनि अनिश्चित बनेको छ । यसलाई कांग्रेस सभापति शेरबहादुर देउवाले कसरी सन्तुलन मिलाएर अघि बढाउँछन्, प्रतिक्षाको विषय बनेको छ ।