राजनीतिक खिचातानीमा ऐंचो पैंचो

राजनीतिक खिचातानीमा ऐंचो पैंचो

निर्मात्री कृषा चौलागाईंको डेब्यु निर्देशनमा बनेको फिल्म ऐंचो पैंचोको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।

आगामी भाद्र १४ गते अल नेपाल रिलिज हुने फिल्मको ट्रेलरमा राजनीतिले देश र समाजमा पारेको प्रभावलाई नजिकबाट देखाउने प्रयास गरिएको छ। दुई मिनेट ३० सेकेन्डको ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई समेटिएको छ भने ट्रेलरमा देखाइएको फिल्मका केही संवादले दर्शकलाई प्रभावित पार्ने क्षमता बोकेको छ। यसअघि, सार्वजनिक फिल्म टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईंको छ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एसका नेता एवं पूर्वपर्यटन तथा संस्कृतिमन्त्री प्रेमबहादुर आलेले पछिल्लो समय नेपालमा चलिरहेको राजनीतिक अस्थिरतालाई फिल्मले उठान गरेकाले मन छोएको जनाउँदै ट्रेलर हेर्दा ऐंचो पैंचो उत्कृष्ट बनेको महसुस भएको बताए। यस्तो विषयवस्तुमा अझै धेरै फिल्म निर्माण हुनु जरुरी भएको भन्दै उनले ट्रेलरमा देखिएको प्रसंग दर्शकलाई हलसम्म ल्याउन पर्याप्त भएको चर्चा गरे।

पूर्वी नेपालका रमणीय स्थानमा खिचिएको फिल्ममा मुकुन भुसाल, स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतका कलाकारले अभिनय गरेका छन्।

केपी फिल्म्सको ब्यानरमा प्रितम लामिछाने र आध्या लामिछानेद्वारा निर्मित फिल्ममा विशाल चौलागाईं सहनिर्माता रहेका छन् भने अभिमन्यु निरवीको कथा, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणाको भीएफएक्स, मुकेश शाहको साउन्ड डिजाइन तथा विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *