अवैध सुन : महरामाथि प्रचण्डको भित्री रणनीति के ?

अवैध सुन : महरामाथि प्रचण्डको भित्री रणनीति के ?

काठमाडौं । तस्करीको झन्डै ६१ किलो सुन र इलेक्ट्रिक सिग्रेट(भेप) बाट बरामद भएको ९ किलो सुन प्रकरणको अनुसन्धान जटिल मोडतर्फ धकेलिएको छ ।

बाहिर आएका तथ्य र प्रमाणका आधारमा अनुसन्धानको सुई सरकारको नेतृत्व गरिरहेको माओवादीकै केहि प्रभावशाली नेताहरु तर्फ सोझिएपछि अनुसन्धान प्रभावित हुने अड्कलबाजि सुरु भएका छन् ।

यस्तोमा सरकार आफ्नो सुशासन र भ्रष्टचार विरुद्धको अभियानमा दृढ रहन्छ या आफ्नाहरुको बचाउमा उत्रिन्छ ? विशेषगरि महरा परिवारमाथि प्रचण्डको आन्तरिक रणनीति कस्तो छ त ?

झन्डै ६१ किलो सुन र त्यसअघि इलेक्ट्रिक सिग्रेट(भेप) बाट बरामद भएको ९ किलो सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उप–महासचिव बर्षमान पुनको नाम सतहमा छ ।

अझ भनौ केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को अनुसन्धानको पारो सरकारको नेतृत्व गरिरहेको पार्टीकै केही प्रभावशाली नेताहरु तर्फ सोझिएको छ ।
यसो त यि दुई प्रकरणको अनुसन्धान तिव्र रुपमा अगाडी बढ्न नसकेको आरोप लागिरहेका बेला माओवादीकै नेताहरुको संलग्नता खुल्दै जानुले अनुसन्धान प्रक्रिया माथिनै संशय पैदा भएको छ ।

भेप काण्डमा जोडिएका महराले त आफ्नो र छोराहरु निर्मल र राहुलको फोनबाट समेत बारम्बार तस्करहरुसँग संवाद गरेको सिआईबीको प्रतिवेदनमै उल्लेख छ ।

बाहिर आएका तथ्य र प्रमाणले पनि उनको संलग्नतालाई बल पुर्याइरहेको छ । तरपनि अभियोजन पत्रमा उनको नाम नपठाएको भन्दै विपक्षीहरुले विरोध गरिरहेका छन् । यद्यपी माओवादी नेताहरु भने आफुहरु अनुसन्धानमा सघाउन तयार रहेको सार्वजनीक अभिव्यक्ति दिँदै हिडिरहेका छन् ।

यता, सिआईबीले गरिरहेको अनुसन्धान माथिल्लो तहसम्म पुग्न नसकेको भन्दै आलोचना समेत हुन थालेको छ ।

यसरी तथ्यगत कनेक्सनहरु सार्वजनीक भईसक्दा पनि सिआईबीलाई के प्रमाण पुगेन ? कतै प्रधानमन्त्री र गृहमन्त्री बाटै सिआईबीमाथि दबाब त सिर्जना भइरहेको छैन् ? प्रश्न उठ्नु स्वभाविक नै हो ।

यद्यपी, नेपाली प्रहरीका प्रवक्ता कुवेर कडायतले अनुसन्धानमा कसैको दबाबमा भन्दा पनि प्रमाणका आधारमा कदम चालिने दाबी गरिरहेका छन् ।

भ्रष्टाचार र सुशासन विरुद्ध उभिएर परीक्षा दिईरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरा र पुनमाथि अनुसन्धानको डण्डा चलाउन सक्छन् या सक्दैनन् ? त्यो आगामी दिनले नै देखाउला । तर, यति ठुलो प्रकरणमा सरकार माथिनै प्रश्न चिन्ह् खडा भइरहेका बेला प्रधानमन्त्री र गृहमन्त्रीले समयमै आवश्यक कदम चाल्न नसके सरकार माथिको विश्वनियता घट्नेमा भने दुई मत छैन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *