
पोखरा । जुनियर सिटिजन्स एकेडेमी (जेसिए), बुढीबजारमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई शुक्रबार स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीले उनीहरुलाई स्वागत गरेका हुन् ।
स्वास्थ्यकर्मी डा. गीतु गैह्रेले मानिस असल बन्नुपर्नेमा जोड दिँदै असल बन्ने प्रेरणा घरपरिवार तथा विद्यालयले प्रदान गर्ने औंल्याइन् । उनले इमानदारपूर्वक काम गर्न सके हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्दै पोखराको शैक्षिक क्षेत्रमा जेसिएको भूमिका महत्वपूर्ण रहेको स्मरण गरिन् । हरेक क्षेत्रमा आत्मविश्वास, अनुशासन र मेहनत चाहिने भन्दै डा. गैह्रेले विद्यार्थीलाई सफलताको सपना देख्न सुझाव समेत दिइन् ।
प्रधानाध्यापक सुन्दरप्रसाद ढकालले कार्यक्रम गरेकोमा कक्षा १२ का विद्यार्थीप्रति आभार प्रकट गर्दै आमा, बुवा तथा शिक्षकले दिएको शिक्षालाई मार्गदर्शनरुपमा लिन विद्यार्थी समक्ष आग्रह गरे । निर्देशक मुकुन्द वस्तीले अनुशासन नै विद्यार्थीको गहना भएको उल्लेख गर्दै जीवनमा शिक्षाको महत्व उल्लेखनीय रहेको चर्चा गरे ।
एकेडेमिक डिन सुन्दरप्रसाद मानन्धरले विद्यार्थीलाई शिक्षाका अलवा असल संकार दिन विद्यालय प्रयासरत रहेको स्पष्ट पार्दै त्यसमा विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, शिक्षक सबैको समान भूमिका रहने बताए ।
कार्यक्रमबीच विभिन्न विषयबाट कक्षा १२ उत्तीर्ण गरी जेसिए टपर हुन सफल सृष्टि अधिकारी, सुस्मिता ओझा, सदीक्षा ठकुरी, करुण विक, प्रिया केसी, सविना पौडेल लगायतलाई नगद सहित सम्मान गरियो ।
सम्मानित सदीक्षा ठकुरी तथा सुस्मिता ओझाले विद्यालयले आफूहरुलाई सम्झेर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै जेसिएसँगको सम्बन्धले भविष्य उज्ज्वल बन्दै गएको अनुभव सुनाए ।
त्यस अवसरमा विद्यार्थी सुदीप क्षत्री, अदित्य अधिकारी, इच्छा पाण्डे, सृष्टि पाण्डे, स्वरुप पौडेल, अनुप सुवेदी, सार्थक सुवेदी, अपेक्षा लामालगायतले पनि भनाइ राखे । सो अवसरमा कक्षा ११ र १२ का विद्यार्थीले विविध प्रस्तुति राखेका थिए ।




