- सुश्मिता वानिया
काठमाडौं । अर्थतन्त्रका बाह्य सुचकहरु सकारात्मक बन्दा आन्तरिक अर्थतन्त्र भने शिथिल नै रहेको छ भने बजार ठप्प छ । भएका व्यवसायहरु मौलाउने भन्दा पनि कसरी बचाउने भन्ने अवस्थामा पुगेका छन । काठमाडौंका प्रमुख बजारहरु न्यूरोड, असन, भोटाहीटी, कालीमाटी, कुलेश्वर लगायतका स्थल सुनसानप्रायः छन् । मुल्यवृद्धि छोईनसक्नुको छ । तर, नियामक निकायहरुबीच कुनै तालमेल छैन ।
विगत १० वर्षदेखि असन बजारमा लत्ता कपडाको व्यापार गर्दै आएका भरतप्रसाद गुप्ता पसल बन्द गर्ने की के गर्ने भन्नेमा चिन्तीत छन् । गत वर्ष आठ सय रुपैयाँ पर्ने फर्मल पाइन्ट अहिले १४ सय पुगेको छ । दिनमा आठ/दस जना ग्राहक आउँछन । महँगी भो भनेर फर्किन्छन । यत्तिको चिन्तीत भरतप्रसाद मात्रै होइनन् । अर्का लत्ता कपडा व्यवसायी अनिल शर्मा रौनीयार पनि व्यापार ठप्प भएको बताउछन् ।
असन बजारका अधिकांस व्यवसायीहरु हातमा मोबाइल लिएर बसेका छन् । उनीहरुका अनुसार दैनिकी यस्तो भएको करिब ६ महिना भयो । उपभोक्ताहरु सामान छान्नुको सट्टा सोझै सस्तो सामान कता छ भनेर सोधिदिन्छ । सस्तो नभएपछि खाली हात फर्किन्छन् ।
गत वर्ष एक हजार रुपैयाँमा पाइने कुर्ता अहिले बजार १५ सय र एक हजार रुपैयाँको जुत्ता २२ सयसम्म पर्ने गरेको छ । मुल्य बढेको लत्ता कपडामा मात्रै होइन । खाद्ययन्नमा पनि उस्तै छ । गत वर्ष प्रतिकेजी सात सय रुपैयाँमा पाईने काजु अहिले आठ सय रुपैयाँ पुगेको छ ।
चाडपर्वको सिजन आउँदै गर्दा किनमेलका लागि आएका उपभोक्ताहरु लत्ता कपडामा भन्दा बढी खाद्ययन्न सामग्रीहरु महंगिएको बताउँछन् ।
गत वर्ष देखि बढेको बैंक ब्याजदर, रुस युक्रेन युद्ध लगायतका बहानामा मुल्यवृद्धि भईरहेको र यसलाई सरकारले नजरअन्दाज गरेको उपभोक्ता अधिकारकर्मी बताउछन् ।
यता, नेपाल राष्ट्र बैैंक पनि अर्थतन्त्रका बाह्य सुचकहरुलाई मात्रै ध्यान दिइरहेको छ ।
अहिले झन्डै आठ प्रतिशतको हाराहारीमा मूल्य वृद्धि छ । तर, यसैबेला ७७ वटै जिल्लाबाट तथ्यांक संकलन गर्ने गरि मूल्यवृद्धि मापन गर्न नेपाल राष्ट्र बैंकले २०८०/८१ लाई आधार वर्ष बनाउने भएको छ । अत्तिआवश्यक खाद्यय वस्तुमा देखिएको मुल्यवृद्धिले संघीय राजधानीका उपभोक्ताहरुको चुलो नबल्ने अवस्था देखिएको छ । नियामक निकायहरुले यसतर्फ ध्यान कहिले पुर्याउने ?