
- सुश्मिता वानिया
काठमाडौँ । भारतले आगामी डिसेम्बर अन्त्यसम्म प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । भारतको वित्त मन्त्रालयले प्याजको मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा आपूर्ति सुधार गर्न भन्दै कर लगाएको हो । अहिले भारतको आन्तरिक बजारमा प्याजको मूल्य प्रतिकिलो ३०.७२ भारु रहेको छ । यो गत वर्षको यही अवधिको तुलनामा २०.७५ प्रतिशतले बढी हो । गत वर्ष प्याजको मूल्य प्रतिकिलो २५.४४ भारु कायम थियो । तर, यसले नेपालको नेपालको आपूर्ति प्रणालीमा कस्तो प्रभाव पार्छ त ? के भन्छन उपभोक्ता अधिकारकर्मीहरु ?
भारतबाट ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारमा प्याज आयात हुने गरेको सरकारी तथ्याङ्क छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा भारतबाट ६ अर्ब ८६ करोड रुपैयाँको प्याज आयात भएको थियो । जसमा ताजा प्याजका रुपमा ६ अर्ब ७५ करोड, सुकेको प्याज ११ करोड रुपैयाँ र २३ लाख रुपैयाँ बराबरको बिउ आयात भएको छ । हाल नेपालले भारतबाट प्याज आयात गर्दा २५ भारु प्रतिकिलो भन्सार मूल्याङ्कन हुने गरेको छ । सो अनुसार भारतमै लाग्ने ४० प्रतिशत निर्यात करअनुसार १६ रुपैयाँ मूल्य थपिन्छ । जसअनुसार नयाँ थोक मूल्यसूची नै ७७ रुपैयाँ प्रतिकिलो हुन्छ । यसअघि, जेठ १४ गते बजेट भाषण आउनुअघि कालिमाटीको थोक बजारमा प्याजको मूल्य किलोमा ३५ रुपैयाँ थियो । जसमा भ्याटसहित आज ६१ रुपैयाँ प्रतिकिलो कायम छ ।
नेपालको माग धान्न भारतबाट वार्षिक २० करोड किलोग्राम आसपास प्याज आयात हुने गरेको छ । नेपालमा वार्षिक ९५ प्रतिशत हाराहारीमा भारतबाट प्याज आयात हुने गरेको तथ्याङक छ । भारतबाट धेरै प्याज आयात गर्ने देशको सूचीमा बंगलादेश, मलेसिया, संयुक्त अरब इमरेट्स, श्रीलङ्का र नेपाल पर्छन् । सन् २०२३ को जुनसम्ममा नेपालले भारतबाट ०.३९ लाख मेट्रिक टन प्याज आयात गरेको छ ।