कोशीमा सरकार बनाउन प्रति सांसद १० करोड वा मन्त्री पद छानीछानी, एमाले र राप्रपाले बनाए रणनीति

काठमाडौं । कोशी प्रदेशमा भोलि सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदैछन् । ९३ सदस्यीय कोशी प्रदेशमा थापालाई कम्तिमा ४७ सांसदले समर्थन गरेमा उनको सरकार जोगिन सक्छ ।

विश्वासको मत पुर्याउन र सरकार चलाउन कांग्रेस–माओवादी गठबन्धनले सभामुख बाबुराम गौतमलाई पदबाट राजीनामा गराएर सांसदमा सिमित गरेको छ । अहिले उपसभामुख एमालेकी सिर्जना दनुवार छिन् ।

उपसभामुख दनुवारले नै संसदमा अध्यक्षता गरिन् भने गठबन्धनलाई ४७ सांसदको समर्थन प्राप्त हुन्छ । तर उपसभामुख दनुवार सोमबारको बैठकमा अनुपस्थित भइन् भने सभामुख, उपसभामुख नहुँदा बैठक चलाउने जेष्ठ सदस्यहरुको ‘अध्यक्ष मञ्डल’का कुनै सदस्यले बैठक सञ्चालन गर्नु पर्छ ।

अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सरी, माओवादीका गीता तिम्सिना, एमालेकी मालती सुब्बा र राप्रपाका अम्बरबहादुर विष्ट छन् ।

कोशीमा एमालेका हिक्मत कार्कीको सरकार ढालेर माओवादीले कांग्रेसको सरकार बनाएको थियो । यसकारण एमालेले कांग्रेसका उद्धबहादुर थापालाई कुनै पनि हालतमा सहयोग गर्ने सम्भावना देखिदैन ।

यसकारण उसले आफ्नो उपसभामुख र अध्यक्ष मण्डलकी मालती सुब्बालाई सोमबारको बैठकमा अनुपस्थित गराउन सक्छ ।

यस्तो भएमा राप्रपाका अम्बरबहादुर विष्टले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । सत्ता गठबन्धनले राप्रपाका सांसदहरुलाई सके फकाउने, नसके १० करोडमा किनेर भए पनि सरकार बनाउने प्रयास गरेको भनेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ट्वीटरमा ‘हर्स ट्रेडिङ’को कुरा खुलासा गरेका छन् ।

कोशीमा उद्धव थापाको सरकार जोगाउन गठबन्धनका कसैले पनि प्रदेश सभामा अध्यक्षता गर्नु हुँदैन ।

अध्यक्षता गर्ने व्यक्तिले विश्वासको मत दिन पाउँदैन । यस्तो अवस्थामा आवश्यक ४७ सांसद पुग्दैनन् । ४६ जनाले मात्रै वर्तमान सरकारलाई समर्थन गर्दा सरकार स्वतः ढल्न पुग्छ ।

कोशी प्रदेश संसद सचिवालयका सूचना अधिकारी निरज ढकालका अनुसार सोमबारको बैठकमा संसदका आठ सांसदले अनुपस्थित हुने सूचना दिएका छन् ।

प्रदेश सभामा कांग्रेसका गयानन्द मण्डल सबैभन्दा जेष्ठ हुन्, उनी अहिले मन्त्री बनिसकेका छन् । प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य नेपाली काँग्रेसका गयानन्द मण्डललाई यसअघि गठबन्धनले राज्यमन्त्री बनाइसकेको छ ।

सोमबार अनुपस्थित हुने नेकपा एमालेका सांसदहरुमा रोहिदबहादुर कार्की, मालतीकुमारी लिम्बू रामप्रसाद महतो, तारादेवि ढकाल , खड्गबहादुर बस्नेत , किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी छन् ।

एमालेका यी सांसद नहुँदा राप्रपाका ६८ वर्षीय अम्बर बहादुर विष्ट र ६५ वर्षका गोपालबहादुर विश्वकर्माले बैठक सञ्चालन गर्नु पर्छ । तर उनीहरु पनि अनुपस्थित हुने बताइएको छ ।

अर्थात एमाले र राप्रपाले कुनै पनि हालतमा आफ्ना सांसदलाई बैठकको अध्यक्षता नगराउने रणनीति बनाएको छ । यदि यस्तै भयो भने सोमबार उद्धब थापाको सरकार एक महिनाको बीचमा दोस्रो पटक ढल्न सक्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top