काठमाडौं । उपसभामुख सिर्जना दनुवार बिरामी भएर प्रदेश सभा बैठक सञ्चालन गर्न नसक्ने भएपनि कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीलाई गर्न लगाएर थापाले आज नै विश्वासको मत लिन लागेका हुन् ।
मन्सुरीलाई बैठकको अध्यक्षतासँगै विश्वासको मत पनि हाल्न लगाउने सत्ता गठबन्धनले योजना बनाएको छ । प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाका सांसदले थापालाई विश्वासको मतबाट रोक्ने योजनाअनुरुप नै सोमबार संसद उपस्थित हुन नसक्ने र उपसभामुखलाई पनि बिदामा बस्न लगाएको थियो ।
९३ सदस्यीय रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको मत आवश्यक पर्छ । जुन सत्ता गठबन्धनसँग अहिले छ तर, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा गठबन्धनकै सांसदले ज्येष्ठ सांसदको हैसियतले प्रदेश सभा बैठक सञ्चालन गर्दा थापाले विश्वासको मत पाउँदैनन् । यद्यपि, गठबन्धनले मन्सुरीलाई बैठकको अध्यक्षता र मत पनि हाल्न लगाउने योजना बनाएको छ ।
यदि, त्यसो गरिएको खण्डमा प्रतिक्षी दल एमाले र राप्रपाले संसद अवरुद्ध गर्ने भनेको छ ।




