आफूले सक्रियता देखाउन नखोजेको राष्ट्रपतिको प्रष्टीकरण, माधव भन्छन – हाम्रो छायाँले एमाले भाग्दैछ

आफूले सक्रियता देखाउन नखोजेको राष्ट्रपतिको प्रष्टीकरण, माधव भन्छन – हाम्रो छायाँले एमाले भाग्दैछ

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक सक्रियता देखाउन नखोजेको बताएका छन् । संसद अवरोध खुलाउन सक्रियता बढाएका राष्ट्रपति पौडेलले संविधान कानूनविपरित सक्रियता देखाएको भन्दै एमालेले बैठकमा उपस्थिति जनाउन नसकिने बताएपछि उनले यस्तो बताएका हुन् ।

प्रजातन्त्र लोकतन्त्रका लागि दुख पाएको कार्यकर्ता भएकाले आफूले राष्ट्रप्रतिको चिन्ता व्यक्त गरेको उनको भनाई थियो ।

संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको भन्दै उनले संवैधानिक जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको जिकिर गरेका छन् ।

चीनसँग विद्युत व्यापार गर्ने योजना छः प्रचण्ड

चीन भ्रमणमा निस्किने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले चीनसँग विद्युत व्यापार गर्ने योजना रहेको सुनाएका छन् ।

मंगलबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा प्रचण्डले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिदै चीनतिर व्यापारका लागि अन्तराष्ट्रिय प्रशारण लाइन बनाउने तयारी भइरहेको समेत बताएका छन् ।

भारत, बंगलादेशसँग पनि विद्युत व्यापारको विषय अघि बढ्ने दाबी गरेका प्रचण्डले नेपालको विद्युत अन्तराष्ट्रिय बजारमा वेच्ने योजना रहेको उल्लेख गरेका छन् । प्रचण्ड अमेरिकाबाट सिधै चीन भ्रमण गर्ने तयारीमा छन् ।

नेकपा एसको छायाका कारण एमाले भाग्दैछः माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टी नेपालको छाँयाका कारण एमाले राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको बैठकमा सहभागी नभएको आरोप लागेको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको छायाका कारण एमाले सर्वदलीय बैठकमा अनुपस्थित भएको आरोप लगाएका छन् ।

एमालेसँग संकिर्ण सोच रहेको दाबी गरेका नेपालले साझा विषयमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै, उनले एमालेसँगको विद्रोह सार्थक रहेको समेत जिकिर गरेका छन् । विभिन्न घटनाक्रमले एमालेसँगको विद्रोहलाई सहि सावित गर्दै गएको उनको जिकिर छ ।

ललिता निवासः गच्छदारसहित साढे दुई सयजनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वउपप्रधान एवम् कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।

गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसालसहित सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिलाई प्रतिवादी बनाउन राय दिइएको छ ।

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए । श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।

०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।

संसद खुलाउने भनिएको शीर्ष नेताहरुको बैठक स्थगित

समय अभाव देखाउदै संसद खुलाउन निर्णायक ठानिएको शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।

मंगलबारका लागि तय भएको शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएपछि बैठक बस्न सकेन् ।

तर, समथ अभावका कारण बैठक बस्न नसकेको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताका छन् ।

संसद अवरोध खुलाउन चलेको दलीय दौडधुले निर्णायक सहमति जुटाउन नसक्दा प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

बुधबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

कोशी सरकारबारे शेखर कोइरालाले किन गरे विरोध ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा विगतमा सरकार गठन गर्ने नाममा गरिएको कार्य जस्तै पुनःगल्ती दोहो¥याएकोले यसलाई अदालतले सच्याउने बताएका छन् ।

मंगलबार विराटनगरमा संचारकर्मीको कुराकानीमा नेता कोइरालाले कोशी प्रदेश सरकारले बहुमत लिने नाममा गरेको कार्य संविधान र संसदीय मुल्यमान्यता विपरित रहेको बताएका हुन् ।

उनले राज्य सत्ताकमजोर भएको तथा राजनैतिक दल र नेताका कमि कमजोरीका कारण न्यायिक सक्रियता बढेको बताए ।

उनले यस अघि कोशी प्रदेशको विषयमा सर्बोच्चले सहि गरेको निणर्य गरेको बताए ।

प्रचण्डको नियतमाथि शंका छः पौडेल

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चापछि रित्तो हात रहन पुगेका कांग्रेस नेता तथा सांसद प्रदीप पौडेलले प्रचण्डको नियतमाथि शंका गरेका छन् ।

भ्रष्टाचारका फाइल खोल्ने र यसमा मुछिएका सबैमाथि अनुसन्धान गर्नुपर्ने भएपनि प्रधानमन्त्री प्रचण्डले आफ्ना मानिस परेपछि ती फाइल अघि नबढाएको आरोप लगाउदै पौडेलले आफ्नो पार्टीभन्दा आधाभन्दा कम सिट भएपनि प्रधानमन्त्री बनाएको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीको नियतमाथि शंका गर्दै चर्को कुरा गरेपनि भ्रष्टाचार फाइल खोल्ने यात्रा अड्किएको हो भन्दै प्रश्न समेत गरेका छन् ।

एमसीसी कार्यान्वयन हुन दिन्नौंः धर्मेन्द्र बास्तोला

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन खोजेको आरोप लगाउदै कार्यान्वयन हुन नदिने चेतावनी दिएको छ ।

मंगलबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा पार्टी प्रवक्ता धर्मेन्द्र वास्तोलाले एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने बताएका हुन् ।

बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले लगाएत नेताहरुले जनतालाई गुम्राहमा राखेर एमसीसी अनुमोदन गराउन भूमिका खेलेको उनले आरोप लगाएका छन् ।

एमसीसी इन्डो–प्यासेफिक सैन्य रणनीति (आईपीएस) अन्तर्गत आएकाले खारेज गर्नुपर्ने माग उक्त पार्टीको छ ।

महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी

मलेसियामा भएको चार देशबीचको टी–२० सिरिजअन्तर्गत पहिलो महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

ङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ । समूह ‘बी’ मा ५ टिम छन्।

प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन् । विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *