
काठमाडाैँ । आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकमा ३४ करोड बराबरको विद्युतीय सवारी आयात भएको छ । पहिलो महिनामा विद्युतीय कार, जीप र भ्यान गरी ११० युनिट भित्रिएको हो । भन्सार विभागको तथ्यांकअनुसार साउनमा आयातित विद्युतीय सवारी ३४ करोड ६१ लाख रुपैयाँ बराबर मूल्यांकनको छ । जसबाट सरकारले १८ करोड २३ लाख रुपैयाँ भन्सार शुल्क असुली गरेको छ। यसमा ५० किलोवाटसम्मको २१ युनिट, ५१ देखि १०० किलोवाटसम्मको ८१ वटा, १०१ देखि २०० किलोवाटसम्मको ५ युनिट र २०१ देखि ३०० किलोवाटसम्मको ३ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । यसैगरी एसेम्बल गर्ने र तयारी अवस्थाका १० करोड ९७ लाख बराबरका १ हजार २७ युनिट तीन पाङ्ग्रे सवारी आयात भएका छन् । जस बाट सरकारले ३ करोड ६५ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ ।
धुलिखेल अस्पतालका लागि ३ अर्ब अनुदान स्वीकृत
सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित अस्पतालको सुधारका लागि जापान सरकारको सवा ३ अर्ब अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । अर्थ मन्त्रालयको प्रस्तावमा धुलिखेल अस्पताल आपत्कालीन ट्रमा सुधार केन्द्रका लागि ३ अर्ब २९ करोड ६० लाख जापानी यान अर्थात नेपाली रुपैयाँ ३ अर्ब १४ करोड ६२ लाख ४३ हजार) अनुदान स्वीकृत भएको हो ।
साउनमा उठ्यो ७८ अर्ब ८७ करोड राजस्व
सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । महालेखाको तथ्याङक अनुसार साउनमा चालू आर्थिक वर्षमा उठाउने लक्ष्यको ५.५४ प्रतिशत मात्रै संकलन भएको हो । यस वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व उठाउने सरकारको लक्ष्य छ । गत आर्थिक वर्षको साउन महिनामा ७९ अर्ब ७२ करोड राजस्व उठेको थियो । जसको तुलनामा चालू आवको साउनमा उठेको राजस्व १ दशमलव ०६ प्रतिशतले कम हो । यसमा कर राजस्व ७० अर्ब १७ करोड र आठ अर्ब ६९ करोड संकलन भएको छ । यस अवधिमा सरकारले नौ अर्ब ३४ करोड अन्य आम्दानीसमेत गरेको छ ।
भन्सार जाँचपासकालागि चोभार आउन थाले नयाँ गाडी
भन्सार जाँचपासका लागि चोभार सुक्खा बन्दरगाहमा नयाँ सवारीसाधन आउन थालेका छन् । गत असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेकोमा हाल सम्म ४९ वटा आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ । यद्यपि यो संख्या बन्दरगाहको क्षमताभन्दा निकै न्यून हो । हालसम्म सांग्रिला मोटर्सको ४४ वटा तथा जीओ अटोमोवाइल्सको ५ वटा गाडी चोभार भन्सार कार्यालयबाट जाँचपास गर्नेगरी भित्रिएका छन् । ती गाडी वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो । हालसम्म चोभार सुक्खा बन्दरगाहमा १ सय ७६ वटा कन्टेनर भन्सार जाँचपासको लागि आइसकेका छन् ।
साउनमा ८ प्रतिशतले घट्यो निर्यात
साउनमा निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निकासी भएकोमा गएको साउनमा १३ अर्ब ५२ करोड ८६ लाखको मात्र वस्तु निकासी भएको भन्सार विभागले जनाएको छ । साउनमा आयात पनि १.५६ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोडको वस्तु आयात भएकोमा गएको साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको हो । वैदेशिक व्यापार समग्रमा २.२८ प्रतिशतले घटेको छ । व्यापार घाटा गत वर्षको भन्दा ० दशमलव ६६ प्रतिशतले घटेको छ ।