संसदीय समितिका सभापतिहरूको निर्वाचन भदौ ११ गते हुने

संसदीय समितिका सभापतिहरूको निर्वाचन भदौ ११ गते हुने

काठमाडाैँ । संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ ।

बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले यसको निम्ति आजै सूचना प्रकाशित हुने बताए ।

उनले भने– ‘संसदीय समितिका सभापतिहरूको अविलम्व निर्वाचन गर्नुपर्ने, टुंग्याउनुपर्ने विषयमा भयो । ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरूको निर्वाचन हुनेछ । १० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ । यसरी अब प्रतिनिधि सभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । आजै सूचना प्रकाशित हुनेछ । आज यही महत्वपूर्ण निर्णय भएको छ ।’

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा(माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, नेकपा(एमाले)का सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति रहेको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *