
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।
बिहीवार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कोशी प्रदेशमा दाहाल र नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए । उनले कोशी प्रदेशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उल्लेख गरे । उनले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरु भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताए ।
उनले भने, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उहाँहरुले साम्प्रदायिकता, उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, मनाधवकुमार नेपाल । यी बाहुनले नुवकोटमा हुन्छ एउटा खेल साढे जुधाउने भन्ने । ती साढेको केही दुष्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरु छेउमा बसेर तालि बजाउँछन् । प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिँदैन । नेपाली लड्नु हुँदैन । जनजातिका नाममा यी बाहुनले लडाएको हेर्नु त । जनता किन भिडाउनु हुन्छ । शासनमा बस्ने यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’
उनले सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टि स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको पनि बताए ।
उनले भने, ‘राजश्व अनुसन्धान विभागमा पु¥याएर एक क्वीन्टल सुनसमेत पक्राउ परेका अभियुक्तहरु उहाँ लगेर फरि खोजिका बखत हाजिर हुन्छु भनेर छोडे । किन छोड्यो, के भनेर छोड्यो, छिटो जाउ, सबलाई खबर गर, सामान लुकाउ, मान्छे भगाउ, तीन दिनपछि फेरि समात्छौँ । त्यसरी दुई जनालाई पठाए । अनुसन्धानले त्यसरी छोड्छ, अनुसन्धान भनेको त्यस्तै हुन्छ । सय केजी ६१ मा झरेको छ । यति मजाक गरिरहन, भ्रष्टाचारको यसकुरालाई लुकाउन गिरिबन्धु टि स्टेट खायो केपीले भने । छ झापामा गिरिबन्धुको हो, मेरो होइन, मैले के गर्नु त छ भने ।’