काठमाडौं । आजभन्दा ठिक २ वर्ष अघि नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना भयो । अघि २०७८ भदौ २ गते नेकपा एसले निर्वाचन आयोगमार्फत दल दर्ताको आधिकारिक प्रमाणपत्र पायो ।
तत्कालीन नेकपा विभाजनपछि साविक एमालेबाट माधव नेपालको नेतृत्वमा नेकपा एसको गठन भएकोे थियो । सो समय तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारलाई विश्वासको मत दिलाउन दल फुट्न सक्ने गरी अध्यादेश ल्याएका थिए ।
उता माधव नेपाल एमालेमा हुँदाखेरी ओलीले पेलेको, एकलौटी राजनीतिक निर्णय गरेको र दुई–दुई पटकसम्म संसद विघटन गरेको भनेर पार्टी विभाजन गरिनसक्ने अवस्थामा थिए ।
यसरी देउवाले एमाले फुटको संघारमा रहेका बेला दलसम्बन्धि ल्याएको अध्यादेशलाई टेकेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष र केपी शर्मा ओलीबीच कटुताको विजारोपण पनि सँगै भयो । सो बेला रोपिएको दुईबीचको तितोपना अझै संङ्लिएको छैन ।
अझ भनौ एमाले विभाजन गरेर नेकपा एस दर्ता गरेका माधव नेपाललाई ओलीले अझै देखि सक्दैनन् । उनले नेपाललाई गिराउने शैलीमा नेकपा एकीकृत समाजवादी पार्टी पार्टीनै होइन भन्दै पटक पटक भाषण समेत गरेका छन् ।
त्यतिमात्रै हैन, उनले माधव नेपाल उपस्थित सबै बैठक तथा सार्वजनिक कार्यक्रममा सरिक नहुने घोषणासमेत गरेका थिए । सम्भवत यही कारण हुनु पर्छ ओलीले केही दिन अघि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरे ।
यता ओलीको रवैयाप्रति माधवको पनि कटाक्षपूर्ण टिप्पणी र जवाफ फर्काउँदै आएका छन् । आफू उपस्थित कार्यक्रममा सहभागी नहुने बताएपछि माधवले आफूसँग ओली अत्यन्तै डराएको टिप्पणी गर्दै आएका छन् । राष्ट्रपतिले बोलाएको बैठकमा ओली नआएपछि माधवले अलि उच्च स्वरमा भने ‘हाम्रो छायाँका कारण ओली बैठकमा आउन सकेनन् ।’
करिब ५ दशक बढी सहकार्य गरेर फरक–फरक बाटोमा रहेका नेपालसँग मात्रै होइन, मावोवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डससँग पनि ओलीको कटुतापूर्ण सम्बन्ध छ ।
चाहे कोशी प्रदेशको विवाद होस् चाही सुन प्रकरणमा ओलीले प्रचण्डलाई प्रहार गरेकै हुन्छन् । जुनसुकै कार्यक्रममा पनि उनीहरुबीच एक अर्कामा घोचपेच गरि नै रहन्छन् ।
विहिवारमात्रै ओलीले एमाले निकट पूर्व प्रहरी तथा सैनिक संगठनको कार्यक्रममा पनि प्रचण्ड र माधवको झाँको झारे ।
ओली र प्रचण्डको कटुता नेपालसँगको जस्तो नयाँ हैन । कुनैबेला गणतन्त्रका लागि संघर्ष गरिरहेका प्रचण्डमाथि वयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओली अझै प्रचण्ड प्रति सशंकित नै छन् । यसको पुष्टि ओलीको माथिका अभिव्यक्तिहरुले पनि प्रष्ट पार्छन् ।
ओलीको दृष्टिमा शान्ति सम्झौतापछि बनेका सरकारहरु बनाउन र ढाल्न सबैभन्दा सबैभन्दा धेरै सक्रिय, अराजक र अस्थिर व्यक्ति प्रचण्ड हुन् । त्यसो त दुवैले सरकार ढाल्न पटक–पटक गरेको फोहोरी राजनीतिक अभ्यास प्रस्तुत गरिसकेका छन् ।
तत्कालीन नेकपा विभाजन पनि त्यसैको परिणाम हो भने वर्तमान प्रचण्ड नेत्तृत्वको सरकारबाट भएको एमालेको बहिर्गमन पनि त्यसैको दृष्टान्त हो ।
ओली, प्रचण्ड र नेपाल जति बेला एउटै पाटीमा थिए, त्यतिबेला इतिहासकै शक्तिशाली सरकारको साँचो पनि उनीहरुकै हातमा थियो । एकै कित्तामा उभिएका उनीहरु सत्तामोह र एकअर्कालाई कसरी पछार्ने भन्ने दाउँपेचलाई किनारा लगाएका भए देश र जनताको हितमा कायापलट हुने गरि काम गर्न सक्थे । मुलुकलाई समृद्धिछर्फ लैजान उनीहरुलाई कसैले पनि रोक्न सक्ने थिएनन् । तर विडम्बना त्यो हुन सकेन ।
आपसी खिचातानीका कारण जनताबाट दुइतिहाइको म्याण्डेटप्राप्त सरकार ढल्यो र सिंहदरबारको कुर्सीबाट ओली बालकोटको बार्दलीमा पुगे । त्यसैगरि प्रदेश सहित राज्यका महत्वपूर्ण निकायहरुबाट पनि एमाले नराम्रोसँग बढारियो ।
नेपाली राजनितिको पछिल्लो दशकमा ओली र प्रचण्डबीच अन्तर संघर्ष चलिरहँदा माधव प्रचण्डको कित्तामा पुगेका छन् ।
एमालेमा रहँदा ओलीको पेलान सहिनसक्नु भयो भनेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव पछिल्लो चुनावी परिणाम पछि दरिलो पोजिसनमा छैनन् ।
राष्ट्रिय पार्टी बन्न पुग्ने मत नपाएको एकीकृत समाजवादी कांग्रेस र माओवादीको कृपाबाट जसोतसो १० सांसदसहित प्रतिनिधि सभामा उपस्थित छ । ओलीको राजनीतिक करियर पनि खस्कदो अवस्थामा छ । प्रचण्डमाथि पनि जनताले केही गरिहाल्लान् भनेर विश्वास गरिहालेका छैनन् ।
उता नेकपा एकीकृतमा जुन तरिकाले नेताहरुमा असन्तुष्टि र छटपटि देखिदैछ, त्यसले माधव राजनीतिक यात्रा कहाँ पुगेर टुंगिने हो अड्कल गर्न गारो छ । यसैबीच देशमा केही काण्डहरु घटेका छन् ।
पुरानै ललिता निवास प्रकरण सेलाएको छैन, नक्कली भुटानी प्रकरणको निकास कहाँ पुगेर पूर्णविराम लाग्छ, थाहा छैन, सुन प्रकरणको खास दोषी को हो राज्यका संयन्त्रहरुले भेउ पाउन सकिरहेका छैनन् । तर पनि बाम नेताहरु बीचको आरोप प्रत्यारोपको मिनि वार भने खोई के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो चलि नै रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले केही दिन अघि ओलीको नाम जोडिएको गिरीबन्धु टि स्टेटको जग्गाको फाइल खोल्ने उद्घोष गरेपछि ओली आगो भएका छन् ।
सक्छौँ भने देखाउन भन्दै ओली कुर्लिरहेका छन् । त्यस्तै अर्को उद्धाहरणका रुपमा एक महिनासम्मको संसद अवरोधलाई नै लिन सकिन्छ । सुन प्रकरणको अत्तो थापेर एमालेले एक महिनासम्म संसद चल्नै दिएन । संसद अवरोध र दलहरुको आ–आफ्नै अडानले नागरिकका आवश्यकता र समस्या छायाँमा पर्दै आएको छ । साँढेको जुधाइ बाछोको मिचाइ भन्ने नेपाली उखान झैँ नेताहरुको गतिविधिले सर्वसाधाण जनता नै मर्कामा पर्दै आएका छन् ।
यति हो राजनीति देश र जनताका लागि हो भन्ने दिव्य ज्ञान यी नेताहरुको मगजमा नछिरेसम्म यो मुलुकमा केही हुनेवाला छैन ।
(भिडियो)