
काठमाडौँ । पूर्वी नेपालका अधिकांश जिल्लामा गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरिरहेको हुन्छ । गाई नेपालको राष्ट्रिय जनावर भएकाले पनि गौहत्यालाई अपराध मानिएको छ । तर सुनसरी लगायतका जिल्लामा गौ हत्या गरी खाएको तस्विरहरु सामाजिक सञ्जालमा नै पोष्ट गरिएपछि हिन्दुवादी संस्थाहरु रुष्ट छन् । त्यसैको प्रतिवाद गर्न शनिबार विभिन्न हिन्दुवादी संस्थाहरु देशैभरबाट सुनसरी केन्द्रित भए । धरानमा शक्ति प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई प्रशासनले निषेधाज्ञा जारी गर्दै कार्यक्रममा रोक लगाएपछि धरान बाहिर शनिवार शान्तिपूर्ण प्रदर्शन भएका छन् ।
कोशी प्रदेशको सुनसरी जिल्ला पछिल्लो समय निकै चर्चामा छ । सुनसरीको धरान नगरपालिकाका मेयर हर्क साङपाङका कारण पनि धरान नगरपालिका अझै बढी चर्चामा आउने गरेको छ । कहिले हिन्दु मन्दिर छेउमा क्रिश्चियन धर्मावलम्बीको चर्च स्थापना गरेको कारण त कहिले मेयरका विभिन्न अभिब्यक्तिले चर्चामा आउने गरेको छ ।
पछिल्लो समय भने धरानमा गाई काटेर खान पाउनुपर्छ भन्ने आशयको तस्वीरहरु नै सामाजिक सञ्जालमा भाइरल गरिएपछि यसप्रति हिन्दुवादीहरु रुष्ट बनेका छन् । त्यसैको प्रतिवाद गर्न भन्दै हिन्दुवादी संघ संगठनहरुले शनिवार धरानमा नै गौहत्याको विरोधमा शक्ति प्रदर्शनको आयोजना गरे । वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले धरानमा वृहत्त ¥यालीको आयोजना गरिएपछि भने सद्भाव विथोलिने भन्दै स्थानीय प्रशासनले शुक्रबार रातीदेखि नै निषेधाज्ञा जारी गरिदियो ।
धरान प्रवेशमै स्थानीय प्रशासनले रोक लगाइदिएपछि धरान बापिहर वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । हिन्दु धर्मावलम्वीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
धरानमा धार्मिक तथा सद्भाव र्याली निकाल्न इटहरीबाट हिँडेको हिन्दुवादीहरुलाई प्रहरीले इटहरी र धरानको सिमामा पर्ने पानीपियाको जंगल क्षेत्रमै रोकिएको दिएको थियो । इटहरीमा भेला भएका हिन्दुवादीहरु ४ किलोमिटर सडकमा पैदल हिडेर धरानको सिमा पुगेका थिए । तर धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेसँगै इटहरीबाट पानीपियातर्फ -याली निकालिएको थियो ।
तरहराबाट धरानतर्फ प्रवेश गर्ने पानीपिया क्षेत्रमा ठुला ठुला ब्यारियरसहित बाक्लो संख्यामा रहेका प्रहरीले प्रदर्शनमा हिडेकाहरुलाई रोकेका थिए ।
जंगलपार गरेर जान सक्ने अवस्था नभएपछि हिन्दुवादीहरु सोही क्षेत्रमा रोकिएर कोणसभा गरेका छन् । विभिन्न शहरबाट आएका हिन्दुवादीहरु सोही ठाउँमा प्रहरीले सबारी साधन सहित रोकेपछि हिन्दुवादीहरु आक्रोशित बनेका थिए ।
इटहरीको कोणसभालाई विभिन्न ठाउँबाट आएका धर्मगुरुहरुले सम्बोधन गरेका थिए । धरानमा धार्मिक सहिष्णुता कायम गर्न भन्दै सवै राजनीतिक दलहरुले पनि सदभाव कायम गर्न अपिल गरेपछि सम्भावित खतरा टरेको छ । यद्यपि हिन्दुवादी धर्मगुरुहरुले आइतबारदेखि निरन्तर आन्दोलन गर्ने बताएका छन् । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैले ध्यान दिन जरुरी छ ।