
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले विभिन्न भ्रष्टाचारका प्रकरणमा छानविनको चुनौती दिएका छन् । एमालेलाई जोड्ने काम गर्दा पनि यसको प्रतिफल उल्टै गठबन्धनका नेतामाथि खनिने दाबी गरेका ओलीले तत्कालीन नेकपा प्रचण्डले फुटाएको आरोप समेत लगाएका छन् । निर्वाचन आयोगदेखि सभामुखविरुद्ध खनिएका ओलीले दिएको वक्तव्यले के सन्देश दिइरहेको छ त ?
एमाले अध्यक्ष केपी ओलिले तत्कालीन नेकपा विभाजनमा अदालतमाथि थुपारिएको दोष गलत भएको दाबी गरेका छन् । ऋषी कट्टेलले आफ्नो पार्टीको नाम नेकपा हुँदाहुँदै अर्को नेकपा गठन भएकाले आफ्नो नामको स्वामित्व आफै लिन पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरे । कट्टेलको रिटमाथिको सुनुवाई त्यहिबेला भयो, जुनबेला नेकपा विभाजनको अन्तिम चरणमा थियो । छुट्टाछुट्टै भेला र एकले अर्कोलाई कारबाही गरिरहेको बेला अदालतले नेकपा विभाजन गरिदिएर नयाँ नाम लिएर आउन भन्यो । नभए पुरानै अवस्थामा पार्टीको पुनर्स्थापना हुने भनिदिएपछि अन्ततः उनीहरु अलग्गिए । एकता भंग भयो । तर, कट्टेलको माग नाममा मात्रै थियो । यो फैसलाबारे थुप्रै संशय व्यक्त अझैं पनि गरिन्छ । खैर, त्यसबेला पार्टी विभाजन भएको विषय बेलाबेला उठ्ने गरेको छ । एकले अर्कोलाई आरोप लगाउने काम चलिरहँदा ओलीले भने आफूले आग्रह गर्दा पनि प्रचण्डले नमानेका कारण पार्टी फुटेको दाबी गरेका छन् ।
पार्टी विभाजनमा प्रचण्ड, निर्वाचन आयोग र सभामुखमाथि आक्षेप लगाएका ओलीले आफू प्रधानमन्त्री बनेको बेला भएको भनिएको अनियमितता प्रकरणमा पनि छानविनको चुनौति दिएका छन् । ओलीले यति, ओम्नी, वाइडबडी लगाएत सबै विषयमा छानबिनको चुनौति मात्रै दिएका छैनन, छानबिनपछि उनीहरु नै जेल जाने दाबा गरेका छन् ।
कोरोना कालमा भएको भनिएको ओम्नी प्रकरण र यतिले ओली सरकारको पालामा लिएका भनेका विवादीत ठेक्का र लिज चर्चामा आइरहने विषय हुन् । यतिमात्रै नभएर वाइडबडी खरिदमा भएको अनियमितता भने अझं चर्को विषय हो । यसमा अन्तराष्ट्रिय समूदायले पनि चासो देखाइरहेको बेला निष्पक्ष छानबिनको सट्टा एकले अर्कोलाई आक्षेप लगाउने काम अझैं रोकिन सकेको देखिन्न ।
तत्कालीन नेकपा बन्दा चमत्कारिक एकतामा पुगेका ओली–प्रचण्ड सत्ता संघर्षसँगै छुट्टिएका थिए । पार्टी विभाजनपछि जनमतमा ओरालो लागेका उनीहरु अझैंपनि पार्टी विभाजनको विषयमस स्वस्थ्य वहस छलफल गर्न तयार देखिन्नन् । विभिन्न पक्ष र समूहमाथि आरोप लगाएर मात्रै यो विषय समाधान होला ? चासो भने बढ्न थालेको छ ।