
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरे पास गर्न नसकिने बताएका छन् । बुधबार काठमाडौँमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै मन्त्री किरातीले बोर्डको बजेटमा कमिसनको चलखेल हुने गरेको बताए । उनले बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि बनाइएको दाबी गरे । उनले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य हुने बताए । आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचनामा हुने कमिसनको खेल शून्य बनाएर छाड्ने मन्त्री किरातीको दाबी छ ।
होटल व्यवसायीका माग
नेपाल उद्योग वाणिज्य महासंघले होटल व्यवसायलाई उद्योगसरह सुविधा प्रदान गर्न सरकारसँग माग गरेको छ । महासंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एक पत्र पठाउँदै होटललाई उत्पादनमूलक उद्योगसरहको सुविधा दिन आग्रह गरेको छ । यसमा ठूलो पुँजी लगानी भएको, ठूलो रकममा विदेशी मुद्रा भित्र्याउन सफल भएको, लाखौँको संख्यामा रोजगारी दिएको, कुल गार्हस्थ्य उत्पादनमा समेत टेवा पुर्याएको लगायतका कारण होटल उद्योग सरह सुविधा दिन पर्ने महासंघको भनाई छ ।
एक महिनामै १९ अर्ब ६० करोड आम्दानी
जीवन बीमा कम्पनीहरूले नयाँ आर्थिक वर्षको एक महिनामै साँढे १९ अर्ब भन्दा बढि आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिना (साउन)मा १९ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी बीमा रकम आर्जन गरेका हुन् । नेपाल बीमा प्राधिकरणकाअनुसार जीवन बीमा कम्पनीहरूले ८ लाख ३२ हजार ७५९ ओटा बीमा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, सर्वाधिक बीमा शुल्क आर्जन गर्नेमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । उक्त कम्पनीले साउनमा मात्रै ५ करोड २२ लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा कम बीमा शुल्क कमाएको छ ।
चालु पूँजी कर्जासम्बन्धी नयाँ व्यवस्था उद्योगमैत्री हुनुपर्ने
नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धि व्यवस्था उद्योगमैत्री हुनुपर्ने जनाएको छ । बुधबार चेम्बरले एक विज्ञप्ति जारी गर्दै उद्योगको हकमा केही सकारात्मक देखिएको चालु पुँजी कर्जा सम्वन्धी नयाँ व्यवस्था जीडीपीमा महत्वपुर्ण हिस्सा ओगट्ने व्यवसाय क्षेत्र मैत्री हुनुपर्ने उल्लेख गरेको छ । चालु पुँजी कर्जाको क्यास क्रेडिट खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तिमा लगातार ७ दिन न्यूनतम सीमाको वक्यौता कायम गर्ने व्यवस्था अव्यवहारिक भएकाले खारेज हुनुपर्ने चेम्बरको ठहर छ । यस्तै चालु पुँजी कर्जाको सीमालाई राष्ट्रबैंकले एकै बास्केटमा नराखी व्यवसायको प्रकृतिको आधारमा निर्धारण गर्न समेत चेम्बरले आग्रह गरेको छ ।
अर्थतन्त्र सुधारका लागि सबै गम्भिर छौं– सभापति चालिसे
प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिका सभापति सन्तोष चालिसेले मुलुकको अर्थतन्त्र मजबुत बनाउनका लागि सबै जिम्मेवार भएर लाग्नु पर्ने बताएका छन् । बुधबार दश विषयगत समितिका नवनिर्वाचित सभापतिसँगको पहिलो बैठकमा मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको उनले बताए । आ–आफ्नो क्षेत्रमा सबै जिम्मेवार भएर लागे कुनैपनि काम सम्पन्न गर्न धेरै समय नलाग्ने सभापति चालिसेको दाबी छ । नयाँ समिति सभापतिको भूमिका, विधेयकहरू अगाडी बढाउने विषय र समितिका कामलाई चुस्त बनाउने लगायतका विषयमा पनि छलफल भएको उनको भनाई छ ।