
काठमाडाैँ । समस्याग्रस्त सिभिल सेभिङ क्रेडिट सहकारी संस्था लिमिटेडमा देखिएको समस्या समाधान गर्न यही भदौ ३० गते विशेष अधिकार प्राप्त समिति गठन हुने भएको छ । सरकारको अनुमतिमा सिभिल सहकारीबा बचतकर्ताहरुले यही ३० गतेका लागि विशेष साधारणसभा बोलाएका छन् । सभाले विशेष अधिकार प्राप्त समिति चयन गर्ने भएको छ । उच्च अदालत पाटनको २०७९ कात्तिक २५ को आदेशबमोजिम भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र पीडित बचतकर्ताबीच छलफल भई समस्या समधानका लागि पहल अघि बढाइएको हो । सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ ठगी आरोपमा २३ महिनाअघि पक्राउ परेका थिए । उनी अहिले पनि जेलमै छन् । तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।
वीरगञ्ज नाकाबाट २० प्रतिशतले घट्यो वैदेशिक व्यापार
प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशकि व्यापार २० प्रतिशतभन्दा बढीले खुम्चिएको छ । साउनमा यस नाकाबाट ५० अर्ब ७७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आर्थिक वर्षको सोही महीना ६३ अर्ब ७१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । गत महीना यस नाकाबाट ४८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ भने २ अर्ब ४७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यस नाकाबाट साउनमा ४५ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।
विपद्बाट क्षतिग्रस्त पूर्वाधार निर्माणमा १० अर्ब ५५ करोड लाग्ने
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष विपदबाट क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा १० अर्ब ५५ करोड लाग्ने भएको छ । यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्म भएको विपदका घटनाका कारण ७३ जनाको मृत्यु भएको छ । साथै, १० सय २ जना घाइते र २० जना बेपत्ता भएका छन् । यस वर्षको बाढी पहिरोबाट ३२६.८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा संचालनमा रहेका १३२.७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यसबाट झण्डै आठ अर्ब ५० करोड क्षति भएको अनुमान गरिएको छ । मनसुन अवधिमा २ सय ५० स्थान भएको विपदका घटनाका कारण ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्यांक छ ।
चालु पूँजी कर्जाका संशोधित व्यवस्था पर्याप्त छैन : परिसंघ
नेपाल चेम्बर अफ कमर्सले चालू पूँजी कर्जा सम्बन्धमा राष्ट्र बैंकको पछिल्लो व्यवस्था व्यवसाय क्षेत्रमैत्री हुनुपर्ने बताएको छ । चेम्बरले एक विज्ञप्तिमा जारी गर्दै उद्योगको हकमा केही सकारात्मक देखिएको चालू पूँजी कर्जा सम्बन्धी नयाँ व्यवस्था जीडीपीमा महत्वपूर्ण हिस्सा ओगट्ने व्यवसाय क्षेत्रमैत्री हुनुपर्ने बताएको हो । चालू पूँजी कर्जाको सीमालाई राष्ट्र बैंकले एकै बास्केटमा नराखी व्यवसायको प्रकृतिको आधारमा निर्धारण गर्न समेत चेम्बरले आग्रह गरेको छ भने कर्जाको सीमा बैंक र ऋणीबीच आवश्यकताका आधारमा निर्धारण भए व्यावसायिक वातावरण सहज हुने चेम्बरको भनाइ छ ।
आइसिएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट
आइसिएफसी फाइनान्स लिमिटेडका ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । फाइनान्सका ग्राहकलाई छुट दिने सम्बन्धमा रिसोर्ट र फाइनान्सबीच व्यावसायिक सम्झौता भएको हो । सम्झौताअनुसार फाइनान्सको डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवावाहक ग्राहकले रिसोर्टमा सेवा लिएबापत तिर्नुपर्ने रकममा छुट प्रदान गरिने जनाइएको छ । जसअनुसार फाइनान्सका डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवावाहक ग्राहकले अधिकतम १५ प्रतिशतसम्म छुट पाउने फाइनान्सले जनाएको छ ।