
काठमाडौं । कम्युनिष्ट घटक दलहरु समाजवादी मोर्चाको नाममा एकताको प्रयास गरिरहेका छन् । वामपन्थी जनमत उल्लेख्य रहेको मुलुकमा भिन्नाभिन्नै पार्टीहरु हुँदा जनमत पनि छरिएको उनीहरुको बुझाई छ ।
छरिएको जनमतलाई एक ठाउँमा ल्याउन उनीहरुले गरिरहेको प्रयास समाजवादी मोर्चा हुँदै पार्टी एकतासम्मै पुग्ने नेताहरुको दाबी कत्तिको नतिजामुखि होला त ?
चार पार्टी सम्मिलित समाजवादी मोर्चाले सन्देश सभाहरु गरिरहेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिष्ट पार्टी मिलेर बनेको समाजवादी मोर्चा अहिले एकै धरातलमा उभिएको छ भनि भन्न सजिलो भएपनि उनीहरु लामो समयसम्म यसरी नै बस्न सक्छन् त यो प्रश्न महत्वपूर्ण हो ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कै कारण झण्डै विभाजनको संघारमा पुगेको मोर्चा फेरि कुन तत्वले मिल्यो त्यो समेत रहस्यको गर्भमा छ ।
एमसीसीविरुद्ध सडक आन्दोलन घोषणा गरेको नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा र एमसीसी कार्यान्वयनको प्रमुख कार्यभार पाएको माओवादी, नेकपा एस र जसपाबीच सहकार्य आगामि दिनमा पनि होला त ?
आशंका उत्तिकै छ । एमसीसी कार्यान्वयनमा प्रतिरोध गर्दा आफ्नै मोर्चाभित्रको दललाई सरकारले के गर्ला ? यस्ता प्रश्नहरु गम्भीर छन् ।
राज्यले कुनै पनि कुराको सुरक्षा दिनु र कानूनले तोकेका कुरा कार्यान्वयनमा लैजनु अनिवार्य सर्त हो । तर, यहि सर्त र मोर्चाको गठजोड कहिलेसम्म त्यो भने अनुत्तरित छ ।
यस्तो हुँदाहुँदै पनि नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले माओवादी फुट्न मात्रै नजानेको र जुट्न पनि जानेको जिकिर गरिरहेका छन् ।
विप्लवले एकताको विषय मात्रै उठाएका छैनन, प्रचण्डमाथि जनयुद्धका विषय उठाएर आक्रमण प्रयास भएको भन्दै चुप नबस्ने चेतावनी दिने गरेका छन् ।
यस्ता विषय जे भएपनि सरकारभित्र रहेको दल र बाहिर रहेको दलबीचको सहकार्य चुनौतिपूर्ण छ ।
यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चालाई परिवर्तनका पक्षधरहरुको समूहको रुपमा अर्थ्याइरहेका छन् ।
माधवलाई ललिता निवासमा टेन्सन हुँदा आफूपनि टेन्सनमा परेको बताइरहेका प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा पार्टी एकताकै लागि भएको दाबी गरेका छन् ।
एमालेसँगको एकताबाट पाठ सिकेको दाबी गरेका प्रचण्डले एकता, ध्रुविकरण हुँदै समाजवादमा पुग्ने लक्ष्य राखेको र समाजवादी मोर्चा शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् ।
समाजवादी मोर्चामा भएका दलहरु विचार सिद्धान्तको आधारमा समेत फरक ध्रुवमा छन् । शक्ति क्षयीकरणको तीब्र गतिबाट गुज्रिरहेका बेला जुटेका नेताहरु पार्टी एकतासम्मै पुग्लान् ? यो भने रोचक विषय बनेको छ ।
गौर प्रकरणले जेलिएका जसपा अध्यक्ष उपेन्द्र यादव हुन वा ललिता निवास प्रकरणले जेलिएका माधव नेपाल नै किन नहुन, वा लडाकु शिविर प्रकरणमा जोडिने प्रचण्ड उनीहरु विभिन्न बहानामा मिल्ने बाटो खोज्नेमा दुई मत नहोला । तर, एमसीसीदेखि संसदीय व्यवस्थामाथि नै अविश्वास गर्ने विप्लव कसरी यो मोर्चामा लामो समय रहिरहलान् ? त्यो पनि रोचक प्रश्न छ ।
यद्यपी नेपालको राजनीति र दलीय प्रवृत्ति एकैनास नहुने भएकाले मेल, वेमेलका घटना परिघटना जे जस्ता पनि हुनसक्छन् । यसमा आश्चर्य मानिहाल्नु पर्ने देखिदैन ।