
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट परराष्ट्र नीतिले देशको आर्थिक क्षमता बढाउने बताएका छन ।
नेपालले आफ्ना अधिकार, प्राथमिकता तथा आवश्यकतालगायत कुरालाई स्पष्ट, आधार र तथ्यांकसहित प्रस्तुत गर्न सके आर्थिक क्षमतासमेत बढ्ने उनले बताएका हुन ।
इन्स्टिच्युट फर स्ट्राटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताबारे सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन ।
राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
विद्युतीय सवारी साधनलाई थप प्रवद्र्धन गरिनेछ : ऊर्जामन्त्री बस्नेत
सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको बताएका छन् ।
ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालै मात्र नयाँ विद्युत् विधेयक तय गरेको र संघीय संसद्मा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाइ छ ।
विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि देशभर नै चार्जिङ स्टेसनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।
यस्तै विद्युतीय सामग्रीको प्रयोगमा बढावा दिँदा वातावरणको संरक्षण पनि हुने भएकाले मन्त्रालयले योजनाबद्ध पहल थालेको उनको भनाइ छ ।
भारतमा निर्यात घट्यो, चीनमा भने बढ्यो
व्यापार साझेदार मुलुक भारतमा नेपालको निर्यात घटेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा भारततर्फको निर्यात २०.८४ प्रतिशतले घटेको हो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार साउन महिनामा नेपालले भारतमा आठ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । जुन गएको साउन महिनाको तुलनामा एक अर्ब ६९ करोड रुपैयाँले कमी हो । खाने तेलको निर्यातमा उच्च ह्रास आएपछि भारतर्फको निकासी घटेको केन्द्रको विश्लेषण छ ।
तथापी, केन्द्रका अनुसार साउन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा चीनतर्फको निर्यात पाँच सय २७ प्रतिशतले बढेको छ । यो साउनमा नेपालले चीनमा ३९ करोडको निर्यात गरेको छ ।
जबकि, अघिल्लो वर्षको साउनमा ६ करोडको मात्रै निर्यात गर्न सकेको थियो । साउन महिनामा नेपालले कुल १३ अर्ब ५३ करोडको वस्तु निर्यात गरेको छ ।
स्थानीयका लागि खुल्यो तातोपानी नाका
शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाएका छन् ।
चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले सहमति गरेसँग शुक्रबारबाट नाका सर्वसाधारणकालागि खुलेको हो ।
खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ ।
स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।
सिन्धुपालचोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
२०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो । मानिस आवत जावत भने खुल्न सकेको थिएन ।
निःशुल्क फूड डेलिभरी गर्दै पठाओ
नेपालको अग्रणी राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले अब देखि नि–शुल्क फुड डेलिभरी सुरु गरेको छ ।
रेस्टुरेन्टको दाममा घरमै खाम भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरु नि–शुल्क डेलिभरी सुरु गरेको पठाओ नेपालले जानकारी दिएको हो ।
पठाओ नेपालले यहीँ सेप्टेम्बर २४ मा हुने आफ्नो पाँचौं वार्षिकोत्सबलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सब महिनाको पहिलो दिन निशुल्क डेलिभरी योजना सार्वजनिक गरेको जनाएको छ ।
गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । त्यसक्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको होे ।