
काठमाडाैँ । नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो । सम्झौतामा एडिबी टिएससिएफपीका प्रमुख स्टिभन बेक, नेपाल बैङ्क लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पु–याउने अपेक्षा गरिएको छ । २०२२ मा एडिबी टिएससिएफपीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारमार्फत ७ दशमलव ७ बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेको बताइएको छ ।
निजी क्षेत्रको मनोबल बढाऔं : अध्यक्ष ढकाल
सरकारले निजी क्षेत्रलाई गुनासो पोख्ने क्षेत्रका रूपमा हेर्ने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) को साधारणसभालाई संबोधन गर्दै आज अध्यक्ष ढकालले निजी क्षेत्रलाई सरकारको हेर्ने नजर फरक रहेको बताए । निजी क्षेत्रले माग्ने काम मात्रै गर्छ भन्ने धारण सरकारले बनाएको ढकालको भनाई छ । पछिल्लो समय बजार मागमा गिरावट आउदा सबै क्षेत्रको उत्साह घट्दै गएकाले सरकारले व्यवसायीहरुको मनोबल बढ्ने गरी नीति बनाउनुपर्ने अध्यक्ष ढकालको दाबी छ ।
सामाजिक सुरक्षा कोषप्रति आकर्षण बढ्दो
पछिल्लो समय सरकारले ल्याएको सामाजिक सुरक्षा कोषप्रति धेरैको अकर्षण बढ्दै गएको छ । हालसम्म सात लाख ४९ हजार नौ सय ४५ श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिएका छन् । औपचारिक क्षेत्रका चार लाख ४० हजार एक सय ६१ र वैदेशिक क्षेत्रका तीन लाख नौ हजार सात सय ६५ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । यस्तै कोषले हालसम्म योगदानकर्तालाई विभिन्न सुविधा योजनाअन्तर्गत पाँच अर्ब ६४ करोड दाबी भुक्तानी गरेको छ । कोषबाट ९७ हजार आठ सय १५ योगदानकर्ताले विभिन्न सुविधा लिएका छन् । हालसम्म ४० अर्ब ६५ करोड रुपैयाँ योगदान सङ्कलन भएको कोषले जनाएको छ ।
नबिल बैंक पुरस्कृत
नबिल बैंकले बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेड भन्दै कम्पास प्लस टेक्नोलोजीले पुरस्कृत गरेको छ । कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस’ अवार्ड नविल बैंकलाई प्रदान गरिएको हो । एक कार्यक्रमकाबिच कम्पास प्लस टेक्नोलोजीका उपाध्यक्ष, पूर्वी संयुक्त क्षेत्रीय निर्देशनालयका प्रबन्ध निर्देशक सर्गेई पुटेनिखिनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका छन् । नबिल बैंकले ग्रीन पिन, मोबाइल बैंकिङ एपमा कार्ड फिचरहरू (डेबिट, क्रेडिट, प्रिपेड) थप्ने र नेपालमा पहिलो पटक सिधै कार्डमा लोड गर्ने मोबाइल बैंकिङ सेवा जस्ता नवीनतम प्रविधि ल्याई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
भारतले हटायो पेट्रोलियम कच्चा पदार्थको ‘अतिरिक्त कर’
भारतले शनिबारदेखी लागू हुने गरी पेट्रोलियम पदार्थको कच्चा पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गरेको छ । इकोनोमिक टाइम्सका अनुसार सेप्टेम्बर २ देखि लागू हुने गरी भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको छ । कर कटौती भएसँगै यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय भारु कर घटेर ६७ सय कायम भएको छ । भारतले पेट्रोलिय पदार्थको कच्चा पदार्थमा लाग्दै आएको कर कटौती गरेसँगै यसबाट नेपाल समेत लाभान्वित हुन सक्ने देखिएको छ । तर, डिजेलमा लाग्ने निर्यात कर बढ्दा भने ठूलो लाभ नमिल्ने देखिन्छ । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।