
- प्रकाश न्योपाने
रुपन्देही । मुलुककै दोस्रो ठूलो भन्सार कार्यालय भैरहवामा एकपछि अर्को बेथितिका घटना बाहिर आउन थालेका छन् । पछिल्लो साढे तीन महिनामा मात्रै नक्कली प्रज्ञापन पत्र प्रयोग गरेको र स्वघोषणा विपरीतका सामान भेटिएपछि ७ वटा ट्रक सामानसहित भन्सारले नियन्त्रणमा लिएको छ । यसले भन्सारमा विगतदेखि नै यस्ता अवैधानिक क्रियाकलाप हुँदै आएको तथ्यलाई थप बल पुर्याउँदै लगेको छ । धमाधम ट्रकका ट्रक सामान बरामद हुँदा समेत मुख्य तस्कर भने अझै पक्राउ परेका छैनन् ।
भदौ ७ देखि १२ गतेसम्म ५ दिनको अन्तरालमा भैरहवा भन्सार कार्यालयल ५ वटा मालबाहक ट्रक सामानसहित नियन्त्रणमा लिएको छ । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा भन्दा अर्कै सामान ट्रकमा रहेको सूचना भन्सार प्रमुख मनिराम पौडेल समक्ष पुगेपछि बल्ल भन्सारले ट्रक नियन्त्रणमा लिएको हो । भदौ ७ गते ना ५ ख ३३५ र युपी ५३ जीटी ०५७८ नम्बरको ट्रक भन्सार परिसरबाटै नियन्त्रणमा लिइएको थियो । भन्सार प्रवेश गर्दा यी ट्रकले प्लास्टिकका दाना ल्याएको भनेर स्वघोषणा गरेका थिए । तर, नियन्त्रणमा लिएर चेकजाँच गर्दा दुई करोड बराबर मूल्यको कपडा र काजु भेटियो ।
यस्तै, भदौ १० गते दुई भारतीय नम्बर प्लेटका ट्रकले औषधिका कच्चा पदार्थ भनेर भित्र्याएका समान जाँच गर्दा कपडा र जुत्ता चप्पल ल्याएको भेटियो । भदौ १२ गते पनि भारतीय ट्रकले मेडिकल पाउडर भनेर कपडा भित्र्याएको भेटियो । यतिमात्रै होइन्, गत जेठ ६ मा भारतीय नम्बरको ट्रकले माछा र असार २५ गते भारतीय नम्बरकै ट्रक नक्कली प्रज्ञापनपत्र बनाएर भन्सार जाँचपास गरी बाहिर निस्कन लागेका बेला पक्राउ परे । यी सबै ट्रकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ ।
भन्सार कार्यालयका अनुसार नक्कली प्रज्ञापनपत्रबाट माछा र प्याज भन्सार पास गराउन खोज्ने १६ जना विरुद्ध मुद्दा चलिरहेको छ । दुईजना फरार छन् । अनुसन्धानका क्रममा भन्सारमै रहेको बाणिज्य बैंकका कर्मचारी, भन्सार एजेन्ट र भन्सारको पार्किङ, गाडी भित्र पस्दा र बाहिर निस्कँदा जाँचबुझ गर्ने जिम्मेवारी पाएको अन्नपूर्ण टर्मिनल्स् प्रालि का कर्मचारीको संलग्नता पाइएको थियो । पछिल्लो पटक भन्सारमा भएका अधिकांश घटनामा एउटै गिरोहको संलग्नता देखिएको छ ।
भन्सारका एक अनुसन्धान अधिकृतका अनुसार चितवनका राजु थापा मुख्य तस्करको नाइके रहेको खुलेको छ । फरार रहेका थापाविरुद्ध अहिले वारेन्ट जारी गरी खोजी भइरहेको छ । विगतमा भैरहवामा ट्याक्सी चालकको काम गर्दै आएका थापाले भन्सारबाट ट्रकका ट्रक कपडा पास गराउँदै आएका छन् । उनी विगतदेखि नै ठूलो संजाल बनाएर तस्करीको गिरोहमा संलग्न हुँदै आएको अनुसन्धानबाट खुलेको भन्सार स्रोत बताउँछ ।
राजुले नेपालका अधिकांश भन्सारबाट नक्कली प्रज्ञापन पत्र र कमसल वस्तु ल्याएको स्वघोषणा गरी कपडा, जुत्ताचप्पल तस्करी गर्दै आएका छन् । उनले भारतीय तस्करदेखि प्रहरी र भन्सारसम्म तथा नेपालतर्फ भन्सार कार्यालय, प्रहरी–प्रशासन, राजश्व अनुसन्धान,भन्सार विभागदेखि अर्थ र गृह मन्त्रालयसम्म नै आफ्नो संजाल विस्तार गरेर अवैध काम गर्दै आएको भन्सार अधिकृतहरुको दावी छ । अहिले भन्सारले पछिल्ला घटनाबारे कल डिटेलदेखि विभिन्न संयन्त्र प्रयोग गरेर सुक्ष्म अनुसन्धान गरिरहेको छ ।
दैनिक उपभोग्य वस्तुका नाममा विना भन्सार करोडौंको सामान भित्रिएको भन्दै आलोचनापछि अहिले एक सय रुपैयाँ बढीको सामान ल्याउँदा भन्सार अनिवार्य गरिएको छ । यस्ता कार्यमा संलग्न गिरोह र कर्मचारी जोसुकै भएपनि सुक्ष्म अनुसन्धान गरेर काबाहीको दायरामा ल्याइएन भने भोलिका दिन अझै अवैध कामले प्रश्रय पाउनेछ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।