
काठमाडाैंँ । तल्लो अरुण जलविद्युत आयोजनामा विभिन्न परिवर्तन हुँदा विद्युतीय क्षमता र लागत पनि वृद्धि भएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको पुरक प्रतिवेदनअनुसार आयोजनाको जडित क्षमता ४ सय ७४.२५ मेगावाटबाट बढाएर ६ सय ६९ मेगावाट हुने गरी डिजाइनलगायतमा परिवर्तन भएको छ । एसएलपीडीसी प्रालिले निर्माणको प्रस्ताव गरेको परियोजनाको ईआईए सन् २०२२ मा स्वीकृत भएको थियो । सोही प्रतिवेदनको पुरक प्रतिवेदनअनुसार आयोजनामा विभिन्न परिवर्तन हुने भएका छन् । यसअघिको डिजाइनअनुसार आयोजना निर्माण गर्दा ७ वर्षको अवधि र ९२ अर्ब १२ करोड ५ लाख रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । डिजाइनमा परिवर्तनसहित निर्माण गर्दा ९२ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
साढे ११ हजार स्मार्ट सडक बत्ती जडान
‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत देशका विभिन्न सडकमा साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा सहरका मुख्य चोकको चारै दिशा उज्यालो छर्न ६७ वटा अत्याधुनिक ’हाइमास्ट लाइट’ जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको जनाएको छ । प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको भनाइ छ ।
सुकेटार विमानस्थलमा काठमाडौंबाट पुनः सुरू भयो
खराब मौसमका कारण जेठदेखि उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि पुनः उडान सुरू भएको छ । ताप्लेजुङको सुकेटार विमानस्थल पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरा पुग्ने गेट समेत हो । मंसिरसम्म तीर्थस्थल पाथिभरा पुग्ने सिजन मानिन्छ । त्यसपछि भने हिँउ पर्न थाल्ने भएकाले यहाँ पुग्न सहज हुँदैन । यहाँ काठमाडौंबाट नेपाल वायुसेवा निगमले सिधा उडान सुचारु गरेको हो । सुकेटारसम्म सिधा उडान भएपछि तीर्थालुलाई सहज बनाउने नेपाल एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका अनुसार उडान साताको तीन दिन (सोमबार, बिहीबार र शनिबार) हुने छ । काठमाडौंबाट बिहान ६ः१५ मा उड्ने जहाज एक घण्टाको उडानपछि सुकेटार पुग्ने छ । साढे ७ बजे सुकेटारबाट उड्ने जहाज एक घण्टाको उडानपछि काठमाडौं आइपुग्ने छ ।
मंसिरभित्र थप दुई पेट्रोलियम पाइनलाइनको बीटुबी
नेपाल आयल निगमले थप दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौताको गृहकार्य सुरु गरेको छ । मंसिरभित्र थप दुई पाइपलाइन निर्माण गर्ने विषयमा बीटुबीसम्बन्धी गृहकार्य सुरु भएको हो । निगमका अनुसार दोस्रो चरणमा दुईवटा पाइपलाइन निर्माण कार्य अघि बढाइएको छ । जसअनुसार झापाको आरआलीदेखि भारतको सिलिगुडी र अमलेखगन्जदेखि चितवनको लोथरसम्म दुईवटा पाइपलाइन निर्माण हुनेछ । बीटुबीमा जानुअघि आईओसीका टोलीहरु स्थलगत अध्ययन गरी अहिले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काममा खटिएका छन् । यो प्रतिवेदन तयार भएर अन्तिम रुप लिएपछि बीटुबी प्रक्रियामा जाने निगमले जनाएको छ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुवै पाइपलाइन निर्माण गर्ने विषयमा द्विपक्षीय सम्झौता भइसकेको छ ।
नेप्सेमा एकल अंकको वृद्धि
सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार ७.०४ अंक (० दशमलव ३५ प्रतिशत)ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको हो । आइतबार १९६०.७८ बिन्दुमा झरेको नेप्से सोमबार भने सुधार भएको हो । सोमबार २७० सूचीकृत धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता धितोपत्र किनबेच भएको छ । त्यसबाट एक अर्ब ९ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार थ्री स्टार हाइड्रोपावरको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २७९.५० पुगेको छ ।