
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्न नहुने बताएका छन् ।
उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दबाब दिने गरेको जिकिर समेत गरे ।
पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराए ।
निर्दोष कोही पनि नपरुन्, दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्ने उपमहासचिव पुनको भनाइ थियो । उपमहासचिव पुनले कुनैपनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्ने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
उनले भने, ‘अहिले सुशासनको कुरा उठेको छ । सुशासनमा अलिकति बेथितिहरुमाथि प्रहार भएको छ । तर यसमा सरकारलाई हामीले पनि बारम्बार भनिराखेका छौं कि त्यसमा दोषी मान्छेहरुको कोही पनि नउम्किउन, निर्दोष मान्छे एक जना पनि नपरोस् । हामीले बारम्बार प्रधानमन्त्रीजी, गृहमन्त्रीजी र सबै साथीहरुलाई भनिराखेका छौं—हामी कोही पार्टीकै नेता होउला । कोही नेताका परिवार होलान् । या कोही नजिकको साथी होला । यदी दोषी देखिन्छ भने कसैलाई छोड्नु हुँदैन । अरुअरु तिर होइन, पहिला आफूतिर हेर्ने हो । तर, निर्दोष छ भने त्यो भिक्टिम हुनु हुँदैन ।’
त्यस अवसरमा पूर्व अर्थमन्त्री समेत रहेका पुनले मुलुकमा आर्थिक गतिविधि बढाउन पनि वैदेशिक ऋण भित्र्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको पनि स्मरण गराए ।