नेपाल र भारत मिलेर कोदो उत्पादन बढाउने, किन हुँदैछ कोदोको विश्वव्यापी चर्चा ?

नेपाल र भारत मिलेर कोदो उत्पादन बढाउने, किन हुँदैछ कोदोको विश्वव्यापी चर्चा ?

  • राजेन्द्र तारकिणी

काठमाडौँ । कोदो नेपालको रैथाने र पुरानो बाली हो । यो स्वास्थ्यका दृष्टिले महत्वपूर्ण छ । नेपालका कैयौँ आदिवासी जनजातिमा यसको विशेष महत्व र उपयोगिता रहिआएको छ । सबैजसो जातजातिले खाने, रुचाउने यो बाली पछिल्लो समय उपेक्षामा समेत पर्दै आयो । नेपालमा कोदो खेती र उत्पादन वृद्धि हुन सकेको छैन र यसको महत्व नयाँ पुस्तालाई बुझाउन सकिएको पनि छैन ।

तर पछिल्लो समय सरकारले नै कोदोलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा नै कोदोजन्य स्थानीय रैथाने बालीलाई प्रवद्र्धन गर्ने कार्यक्रम राखिएको छ । ‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ बजेटमा परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिउँ संरक्षण गरी खेती विस्तार गरिने उल्लेख छ । साथै कर्णाली प्रदेशलगायत विभिन्न स्थानमा फल्ने मार्सी धान, कागुनो, कोदो, फापर, जौ, लट्टे, सिमीलगायतका रैथाने बालीको उत्पादन खाद्य तथा व्यापार कम्पनीमार्फत् खरिद गरिने पनि उल्लेख छ ।

नेपालमा मात्र हैन, भारतमा पनि त्यहाँको सरकारले कोदो उत्पादन अभियान नै चलाएको छ । कोदोको विश्वव्यापी ब्रान्डिङलाई समेत भारतले महत्वका साथ अघि सारेर प्रवद्र्धनमा जोड दिएको छ । पछिल्लो समय विश्वव्यापी रुपमै कोदोको चर्चा र महत्वबारे बहस—विमर्श समेत भइरहेका छन् । यसको एउटा कारण संयुक्त राष्ट्र संघले नै कोदोलाई महत्वका साथ अघि सार्नु पनि हो । राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ घोषणा गरेको छ । राष्ट्रसङ्घको ७५ औँ महासभाले सन् २०२१ मार्चमा यो वर्षलाई ‘कोदोजन्य बाली वर्ष’का रूपमा मनाउने घोषणा गरेको थियो । कोदोको उपयोगिताबारे विश्वभर जागरुकता फैलाउन र नीतिगत प्रभाव पार्नका लागि समेत यस्तो घोषणा गरिएको बताइन्छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पनि सरकारले कोदोलाई प्राथमिकतामा राखेको र अब यसको उत्पादन बढाएर विदेश निर्यात गर्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्बर रहेको बताए । प्रशस्त कोदो उत्पादन गरी ब्रान्डिङ गर्दै विदेशमा निर्यात गर्न सकिने बताए । पाखोबारीमा फल्ने, बाँदरबाट जोगाउन सकिने, स्वास्थ्यका लागि महत्वपूर्ण रहेकोले कोदो उत्पादन गर्न उनले आग्रह गरे । मन्त्री भुसालले समाजमा खानपानमा आएको परिवर्तनसँगै स्वस्थतामा कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको पनि बताए । खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन समेत कोदो उत्पादन मुख्य बाली सावित हुनसक्ने उनको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पनि नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउनुपर्ने बताए । भारतले कोदोको उत्पादन बढाउने अभियान नै सञ्चालन गरिरहेको जानकारी दिँदै श्रीवास्तवले नेपालले पनि कोदो उत्पादन बढाउनुपर्ने र बजारीकरण गर्नुपर्ने बताए । उनले नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउँदै कोदोबाट विभिन्न परिकार बनाएर विश्वमा ब्रान्डिङ गर्न प्रस्ताव गरे । नेपाल र भारत दुवै देशले आफ्नो उर्वर भूमिमा कोदो रोप्नुपर्ने उनको भनाइ थियो ।

नेपालमा कोदोको उत्पादन क्षमता उच्चा रहे पनि देशको माग धान्न पुग्ने उत्पादन भने हुने गरेको छैन । कोदोसमेत विदेशबाट आयात हुने गर्छ । हाल नेपालको कुल दुई लाख ६० हजार हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गर्छ र वर्षभरि करिब ३ लाख २५ हजार मेट्रिक टन कोदो उत्पादन हुने गर्छ । कोदो स्वास्थ्यका लागि धेरै नै लाभदायी भएको विभिन्न वैज्ञानिक तथ्यहरुले समेत पुष्टि गरेका छन् । कोदोमा क्यालसियम उच्च मात्रामा पाइन्छ भने कार्बोहाइड्रेट पनि प्रशस्त पाइन्छ । साथै प्रोटिन, फ्याट, आइरन, भिटामिन, थाइमिन, म्याग्नेसियम, फस्फोरस, फाइबर लगायत तत्वहरु पाइन्छन् । कोदो सजिलै पच्ने, तागतिलो तथा स्वादिलो समेत हुने गर्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा मोटोपन हुने व्यक्तिको तौल घटाउनसमेत कोदोले फाइदा गर्छ । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ, कब्जियत र ग्यास्टिकको समस्या भएमा कोदोको रोटी वा ढिडो खानाले फाइदा गर्छ  । केही अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ र यसको नियमित सेवनले मधुमेहको जोखिम समेत कम हन्छ । यसले गर्भवती, बालबालिका, वृद्ध तथा रक्तचापका बिरामीलाई समेत फाइदा गर्ने विज्ञहरु बताउँछन् ।

तर अब हेला गरिएको कोदोले भाउ पाउँदै गएको छ । खानपान र जीवनशैलीबारे बिस्तारै मानिसमा चेतना फैलिँदै गएसँगै कोदोलाई अहिले ‘सुपर फुड’ र ‘स्मार्ट फुड’ भन्न थालिएको छ । शहरका विभिन्न रेस्टुराँमा कोदोको ढिँडो लगायत परिकार पाइन्छ । यसले स्वास्थ्यमा पु¥याउने फाइदाबारे चर्चा हुन थालेसँगै कोदो सुपरमार्केटहरुमा पनि महँगोमा बिक्री हुन थालेको छ । र, अब यसको अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्नुपर्ने कुरा उठेका छन् । ब्राण्डिङ भएर विश्व बजारमा जान सकेको खण्डमा नेपालले कोदोबाट समेत मनग्य लाभ लिन सक्ने देखिन्छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *