
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाएर विदेश निर्यात गर्नुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्बर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्नसक्नुपर्ने बताए ।
बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदो उत्पादन गर्न उनले आग्रह गरे । सरकारले पनि कोदो उत्पादनलाई बढावा दिनेगरी काम गरिरहेको जानकारी दिँदै उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको समेत बताए ।
मन्त्री भुसालले समाजमा खानपानमा आएको परिवर्तनसँगै स्वस्थतामा कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको पनि बताए । खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य बाली सावित हुनसक्ने उनको भनाइ थियो ।
‘केही दशकअघिसम्म आम नेपाली जनतको खाद्य सुरक्षा र पोषणको एउटा प्रमुख श्रोतका रुपमा कोदो रहेको थियो । म आफैँ सानोमा कोदो रोपेको छु, धेरै प्रकार खाएको छु, अहिले क्रमशः घट्दै गएको छ । त्यसलाई फेरि हामीले क्रमशः पुनःस्थापना गर्न खोज्दैछौँ,’ उनले भने, ‘समाजमा खानपानमा जुन खालको परिवर्तन आयो, यो बीचमा, जुन खानपानले स्वास्थ्यको निम्ति लाभ भन्दा हामी बडी गरेको छ, त्यसले पुनः प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ अघि बढ्ने व्यवहार शुरु भएको छ । त्यो धेरै सकारात्मक छ । अहिले जुन खालको कुपोषणबाट हामी पीडित भएका छौँ, जुन हिसावले पोषण कम भएको पाइन्छ, त्यसमा कोदो प्रवद्र्धन गरी मुख्य खानाको रुपमा प्रयोग गरे लाभदायक हुन्छ । नेपालको भौगोलिक हिसावले पनि पहाडी क्षेत्र कोदो उत्पादनका लागि उर्वर छ, खाद्यान्न वृद्धिको जुन अभियान हामीले भनेका छौँ, त्यसका लागि यो महत्वपूर्ण क्षेत्र एउटा हो । जसलाई हामीले मकै र कोदो एकैपटक लगाउन सक्छौँ । जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम छ, त्यसमा कोदो उत्पादन बढाउँदा राम्रो हुन्छ ।’