
काठमाडौं । नेकपा एमाले भित्र गुटगत राजनीति पुरानै समस्या हो । तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधनपछि देखि नै एमालेमा विभिन्न गुटहरु सक्रिय थिए ।
गुटको प्रभावले एमाले बेला बेला छिन्नभिन्न समेत हुँदै आएको छ । २०५४ सालमा बामदेव गौतमले एमाले फुटाएका नेकपा माले बनाएका थिए ।
सो बेला महाकाली सन्धिका कारण एमालेमा माधव नेपाल र केपी ओली एकतिर लाग्दा वामदेव भने पार्टी विभाजन गर्ने सम्मकै अवस्थामा पुगेका थिए । तर ५ वर्ष पछि उनी पुनः एमालेमै फर्किए । उता बामदेवसँगै मालेमा गएका सीपी मैनाली भने मालेमै रहे ।
यसरी गुटको कारण विभिन्न समयमा फुट र एकता झेल्दै आएको एमालेबाट पछिल्लो पटक २०७८ मा माधव नेपाल पनि बाहिरिएका थिए । नेता माधव नेपाल बाहिरिएपछि एमालेमा गुटको राजनीति अन्त्य भएको भनिदै आएको थियो । तर एमालेमा पुनः पुरानै गुटगत राजनीतिको अैँजरु पलाउने खतराका संकेतहरु देखिन थालेका छन् ।
यसको छनक लुम्बिनी प्रदेशको अधिवेशनले देखाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको वहिरगर्मन पछि सार्वजनिक रुपमा पार्टी एक ढिक्का भएको दावी गर्दै आएका छन् । तर प्रदेश अधिवेशनको सुभारम्भमै ओलीको दावीले मेल खाएन ।
अर्थात लुम्बिनीको अधिवेशनमै विभिन्न गुटहहरु देखा परे । सहमतिमा नेतृत्व चयन हुन सकेन । जबकी अध्यक्ष ओलीले प्रदेश अधिवेशन उद्घाटनमै नेतृत्व चयन गर्ने दावी गरेका थिए ।
ओलीले एमालेको गुटलाई ढाकछोप भने गर्ने प्रयास गरेका थिए तर लुकेन । संघियता कार्यान्वयन पछि नेकपा एमालेले पहिलो पटक सातै प्रदेशको नेतृत्व चयन गर्ने प्रक्रिया जारी छ ।
पार्टी केन्द्रको निर्णय अनुसार पहिलो अधिवेशन लुम्बिनीबाट गरिएको हो । केन्द्रको निर्णय अनुसार लुम्बिनको महाधिवेशन भदौ १६ र १७ गते २ दिनको लागि निर्धारण गरिएको थियो । तर प्रदेश अध्यक्षका पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरि रिजालको उम्मेदवारी पर्यो ।
अध्यक्षका आकाक्षी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट नेता हुन् । त्यस्तै रिजाल भने महासचिव शंकर पोखरले निकटका नेता हुन् ।
२ दिनमा सकिनुपर्ने एमालेको लुम्बिनी अधिवेशन ४ दिन लागेको छ । यसले अन्य प्रदेशको महाधिवेशनलाई समेत प्रभाव पार्ने देखिन्छ । शनिबारबाट सुरु भएको २ दिने प्रदेश महाधिवेशनले सहमतिमा पदाधिकारी चयन गर्न सकेन । लुम्बिनी एमालेले निर्वाचनपछि मात्रै बुधबार नेतृत्व पाएको छ
मंगलबार भएको निर्वाचनमा उपाध्यक्ष पौडेल निकट प्यानल र महासचिव पोखरेल प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको हो ।
निर्वाचन परिणाम अनुसार उपाध्यक्ष पौडेल निकटका पाल्पाका राधाकृष्ण कडेल प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् ।
उनी मात्रै निर्वाचित भएनन् प्यानलबाट एक उपसचिव बाहेक सबै कडेल पक्षका विजयी भए ।
एमालेको विधानमा प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्य रहने व्यवस्था छ ।
सोही प्रदेशबाटै राजनीति गर्दै पार्टी केन्द्रको उपाध्यक्ष तथा महासचिव विष्णु पौडेल र शंकर पोखरेललेसमेत सहमतिमा पदाधिकारी चयन हुने दावी गर्दै आएका थिए ।
अधिवेशनमा बोल्दै महासचिव शंकर पोखरेलले आफू र विष्णु पौडेल लुम्बिनीमा मात्रै राष्ट्र र एमालेलाई नै बलियो बनाउन एकैसाथ रहने बताएकाका थिए ।
लोकतान्त्रिक मुलुकमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु त्यति अनौठो भने होइन । तर एमालेको प्रदेशकै पटक भएको महाधिवेशनमा एमालेले गुटगत राजनीतिको असर झेल्नु पर्यो ।
लुम्बिनी प्रदेशको महाधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दुई पात्रको को मात्रै टसल देखियो । तर यसमा अन्य नेताहरु पनि पक्ष र विपक्षमा उभिएका छन् ।
पौडेल निकटका उम्मेदवार कँडेललाई सचिव छविलाल विश्वकर्मा र गोकर्ण विष्ट त्यस्तै पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने र वैजनाथ चौधरी लगायतको समर्थन थियो ।
उता महासचिव पौडेल निकटका रिजाललाई उपमहासचिव प्रदीप ज्ञवालीका साथै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेको समर्थन थियो ।
एमालेमा खासगरी अहिले ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेलको फरक–फरक गुट सक्रिय रहेको बताइन्छ । केन्द्रीय गुटका कारण लुम्बिनी प्रदेश अधिवेशनलाई निर्वाचनसम्म पुर्याएको छ भने अन्य प्रदेशको महाधिवेशनमा कस्तो असर पार्छ भन्ने हेर्न बाँकी नै छ । एमाले भित्र हुँर्किँदै गरेका गुटहरुले पार्टीलाई विग्रहतिर नलैजाला भन्न सकिन्न ।