
काठमाडाैँ । नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला अर्थात बिपीलाई राजनीति, साहित्य र सामाजिक चरित्र चित्रण गर्ने नेताको रुपमा लिइन्छ । बिपीले समाजवादको कल्पना गर्दै विद्रोही चेतका साथ नेपालको निरंकुश शासन व्यवस्था जनताको हातमा ल्याउन ठूलो प्रयास गरे । जसका कारण नेपालले प्रजातन्त्र पायो । समाजमा विद्रोही चेत राख्ने वीपीको समाजवाद वा साहित्यले देखाएको बाटो आजको समाजमा पनि प्रभावकारी छ त ?
बुवा कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाका साहिला सन्तानको रुपमा १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्मिएका बिपी मेलमिलाप नीतिदेखि समाजवादका चिन्तक हुन् । राजनीतिक परिवारमा जन्मिएका बिपीमा साहित्यिक चेत पनि असाध्यै चर्चा र प्रशंसायोग्य नै मानिन्छ । २०३९ साल साउन ६ गते क्यान्सरका कारण ज्यान गुमाएका बिपी नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री समेत हुन् । जीवनभर मुलुकको प्रजातन्त्रका लागि लडेका बिपी विभिन्न समयमा काराबास जीवन समेत भोगे ।
बिपी नेपालमा मात्रै नभई भारतमा समेत आन्दोलनमा होमिएपछि भारतीय स्वतन्त्रता को आन्दोलनले उनलाई जेल पुर्याएको थियो । त्यहिबाट राजनीतिक स्वतन्त्रता हुनुपर्छ भन्ने चेत बोकेर फर्किएका बिपीले गरेको संघर्षलाई पत्रकार जगत नेपाल यसरी सम्झन्छन् ।
२०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए। बनारसबाटै उच्च माध्यामिक शिक्षा हासिल गरेका बिपीले बनारस हिन्दु विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरेका थिए । त्यसपछि दार्जिलिङमा कानून पेशा अंगालेका बिपीले अन्ततः वि.सं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए जुन पछि गएर नेपाली कांग्रेस बन्न पुगेको थियो ।
यसरी मुलुकको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएका बिपीले नेपाली समाजमा गरिबी रहेको र गाउँका मानिसलाई सेवा दिननुपर्ने जिकिर गर्ने गर्थे ।
बिपीले जनतालाई सम्पन्न बनाउनुपर्छ । खान, लगाउन दुख हुनु हुँदैन भन्ने मान्यता राख्थे । जनताको घरमा एक हल गोरु, लैनो भैसी र छत होस भन्ने बिपीको कल्पना थियो । त्यसबेला जमिनदारहरुको बिगबिगी मात्रै थिएन, राज्य सत्तासँग नजिक रहेकाहरुले गरेको शोषण र अत्याचारको सीमा कल्पना बाहिर थियो । यहि कारण पनि बिपीले समाजवाद कल्पना गर्दा किसानसँग अन्न फलाउने खेल, जोत्ने गोरु, दुध खान लैनो भैसी र छत भए पुग्छ भन्ने कल्पना गरे । त्यो समयमा पनि यो ठूलो विषय थियो ।
बिपीले कल्पना गरेको समाजवाद समयक्रमसँगै परिवर्तन भएपनि मार्गनिर्देशन भने फेरिएको छैन् । अहिले पनि गरिबी, रोग, भोकमरी, अशिक्षा लगायत थुप्रै समस्या छन् । यस्ता विषय समाधानको बाटोमा लैजान सकेमात्रै पनि बिपीप्रति सच्चा सम्मान हुनेछ ।