
काठमाडौँ । ११०औँ बिपी जयन्तीको अवसरमा कांग्रेसले बिपीको राजनीतिकमात्र होइन, साहित्यिक आयामको पनि कदर गर्ने उद्देश्यले ३ दिने साहित्यिक महोत्सवको आयोजना गरेको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद समेटेर नेपाली कांग्रेसले जति आफ्नो सैद्धान्तीक पाटोलाई सिंगारेको छ, व्यवहारमा त्यसलाई धेरै पहिले नै तिलाञ्जली दिइसकेको छ । आवरणमा बिपीको तस्बिर टांसेको कांग्रेस वर्तमान समयमा उनको मुलबाटोमा हिँडेको छ त ?
नेपाली कांग्रेसले आदर्श मान्दै आएका बीपी कोइराला राजनीतिका साथै साहित्यका क्षेत्रमा पनि अब्बल थिए । तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदीआइन, हिटलर यहुदी जस्ता उपन्यास, दोषी चश्मा, श्वेत भैरवी जस्ता कथा तथा जेलजर्नल जस्ता जीवनी जस्ता कृतिहरु वीपीले लेखेका हुन् । साहित्यमा मनोविश्लेषण भित्र्याउने साहित्यकारका रुपमा चिनिएका वीपीलाई कांग्रेसले साहित्य भन्दा पनि राजनीति आदर्श मान्दै आएको छ । उनै वीपी कोइरालाको आइतबार ११० औं जन्मजयन्ती मनाउँदै गर्दा भने कांग्रेसको वीपीको साहित्यलाई सम्झिएको छ । त्यसैले पहिलो पटक तीन दिने वीपी साहित्य महोत्सव आयोजना गरेर बिपीको साहित्यीक पाटोलाई सम्मान गर्न खोजेको छ । महोत्सवमा विपीका साहित्य दर्शनमा आधारित विचार विमर्श, कविता, गजल, चित्रकला, वृत्तचित्र तथा फोटो प्रदर्शनीका विविध कार्यक्रम आयोजना गरिएको छ ।
राणा शासन हटाउन २००३ सालमा विपी कोइरालाको नेतृत्वमा जन्मेको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशमशेरले नेतृत्व गरेको नेपाल प्रजातन्त्र कांग्रेस, २००६ सालमा एकीकृत भई नेपाली कांग्रेस बनेको थियो । तत्कालीन व्यवस्था परिवर्तनको नेतृत्व गरेका बीपीलाई उनको सिद्धान्त, दुरदर्शीता र बहुआयामीक व्यक्तित्वका लागि नेपाली राजनीतिले आज पनि उत्तिकै सम्मान गरेको छ ।
पार्टीको संस्थागत नेता मात्र होइन, कांग्रेसले अहिले पनि वीपीको समाजवाद अंगिकार गरिरहेको छ । तर व्यवहारमा कांग्रेस बिपीको सिद्दान्तबाट धेरै पहिले नै स्खलित भइसकेको आलोचकहरु बताउँछन् । गणेशमान, कृष्णप्रसाद भट्टराईसम्म आईपुग्दा नै बिपी सिद्धान्त त्यसयता कांग्रेसले ग्रहण गर्न नसकेको चर्चा कांग्रेसवृत्तमै चल्ने गरेको छ । कम्युनीष्टसँग कुनैपनि हालतमा मिल्न नसकिने विचार राख्ने बिपीको पार्टी हाल सत्ता र शक्तिका लागि जो कोहिसँग टाउको जोड्न आतुर छ । विपीले प्रस्ताव गरेका राष्ट्रियता र समाजवादलाई कांग्रेस नेताहरुले भाषणमा मात्र सीमित राखेका छन् ।