
काठमाडाैँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिन नसकेको बताएका छन् । लुम्बिनी र पोखरा एयरपोर्टभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने आवस्यकता रहेको भएपनि विभिन्न कारणवश सरकारले अघि बढाउन नसकेको मन्त्री महतले बताए । त्यस्तै उनले अबको ४ वर्षसम्म काठमाडौँ–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने बताए । नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेका कारण अरबौं रुपैयाँ गर्नबाट राज्य वञ्चित भएको मन्त्री महतको भनाई छ । शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्नेमा उनको जोड छ ।
पहिलो पटक मुगुमा पुग्यो विद्युतको राष्ट्रिय प्रसारण लाइन
नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लालाई विद्युत्को राष्ट्रिय प्रणाली (ग्रिड)मा जोडेको छ । प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारणलाइनलाई नाग्मामा ट्यापिङ गर्दै करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म बिजुली पुर्याएको हो । मुगुमा राष्ट्रिय प्रसारणलाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ। हालसम्म देखिएको साना जलविद्युत् समय–समयमा बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारणलाइन पुगेसँगै समाधान हुने प्राधिकरणले बताएको छ ।
अरबौँ रुपैयाँको प्लाइउड विदेश निर्यात
पछिल्लो समय नेपालबाट प्लाइउडको निर्यात बढेको छ । भन्सार विभागकाअनुसार गत आर्थिक बर्ष २०७९/८० मा मात्रै नेपालबाट विभिन्न देशमा ४ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ । यो अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा भने करिव ४ अर्ब ४० करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक बर्ष ३५ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै प्लाइउड निर्यात भएको विभागले जनाएको छ । खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाहरुबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीहरु बताउँछन् ।
द्रुतमार्गमा साँढे ४९ अर्ब स्वाहा, काम मात्रै २८ प्रतिशत
नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्गको काम आगामी ३ वर्षमा सम्पन्न हुने बताएको छ । सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न सेनाले जनाएको छ । हालसम्म उक्त आयोजनाको करिब २८ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । हालसम्म उक्त द्रुतमार्गको काममा ४९ अर्ब २३ करोड रुपैयाँभन्दा बढी खर्च भएको सेनाले जनाएको छ । यस्तै चालु आर्थिक वर्षका लागि सरकारले २२ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको छ । यसका लागि सवा २ खर्ब रुपैयाँ खर्च हुने गरी गुरुयोजना बनेको छ । तत्कालीन सरकारले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ जेठबाट आयोजनाको व्यवस्थापन जिम्मा सेनालाई दिएको थियो ।
नेपाल टेलिकम टिकटक च्यालेन्ज कार्यक्रम
नेपाल टेलिकमले हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा टिकटक च्यालेन्ज कार्यक्रम संचालनमा ल्याएको छ । टेलिकमले सुरु गरेको ’तीजको लहर टिकटक च्यालेन्ज’ कार्यक्रम असोज ७ गतेसम्म सञ्चालन हुने जनाएको छ । प्रतिस्पर्धामा सहभागी हुन टेलिकमको आधिकारिक टिकटक अकाउन्टमा गई ’नेपाल टेलिकमको तीजको लहर….’ अडियोमा टिकटक बनाउनुपर्नेछ । विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन् ।