
नाडा अटो शो २०२३ सुरु
काठमाडौँमा १५औं संस्करणको नाडा अटो शो २०२३ सुरु भएको छ । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गर्ने यस संस्करणको अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल छ । साथै सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड छ । यो मेलामा २० अर्ब बराबरको कारोबार हुने आयोजकको भनाई छ । प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।
महिला निर्माण व्यवसायीलाई नेतृत्व विकास तालिम
नेपाल निर्माण व्यवसायी महासंघले महिला निर्माण व्यवसायीहरूका लागि दुई दिने नेतृत्व विकास तालिम संचालन गरेको छ । मंगलवार काठमाडौँ स्थित महासंघ सचिवालयमा तालिमको उद्घाटन गर्दै महासंघका महासचिव रोशन दाहालले महिला निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम कार्यक्रम अत्यन्त उपयोगी हुने बताएका छन् । निर्माण उद्योगमा महिला व्यवसायीहरूको संख्या बढ्दै जानु सकारात्मक रहेको बताउँदै उनले महिला व्यवसायीहरूकालागि समय सापेक्ष विभिन्न तालिमहरु महासंघले संचालन गरिरहेको जानकारी दिए ।
नेपालको अर्थतन्त्रमा क्रमिक सुधार
पछिल्लो समय नेपालको अर्थतन्त्र सुधारउन्मुख देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको भदौ २५ सम्म एक खर्ब ३० अर्ब राजस्व संकलन भएको छ । जुन गत आर्थिक वर्ष २०७८÷७९ मा भदौ २५ गतेसम्म एक खर्ब २७ अर्ब रूपैयाँको राजस्व उठेको थियो । गत आर्थिक वर्षको तुलनामा यस वर्षको सोही अवधिमा ३ अर्ब रूपैयाँले राजस्व वृद्धि भएको देखिएको छ । यस्तै भदौ लागेयता बैंकहरुबाट प्रवाह हुने कर्जा समेत बढेको छ । नेपाल राष्ट्र बैंककाअनुसार भदौ १ गतेदेखि २३ गतेसम्म ३२ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको छ ।
अनलाइनबाटै कम्पनी दर्ता हुने
अबदेखि अनलाइनबाटै कम्पनी दर्ता गर्न मिल्ने व्यवस्था गरिने भएको छ । आगामी १५ असोजदेखि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी अनलाइन माध्यमबाट दर्ता हुनेछन् । कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटो–छरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्ता अनलाइनका माध्यमबाट गर्न लागिएको जनाएको छ । अनलाइनबाट दर्ता हुने कम्पनीले कम्पनीको छाप तथा कम्पनीको तर्फबाट सम्बन्धित कागजातमा हस्ताक्षर गर्न अनुमतिप्राप्त कम्पनीको अध्यक्ष, सञ्चालक वा कम्पनी सचिवको नमुना हस्ताक्षर विद्युतीय सूचना प्रणालीमा उपलब्ध गराउनुपर्ने कार्यालयको भनाई छ ।
वाणिज्य बैंकहरुमा एकै दिन ६३ अर्ब रुपैयाँ निक्षेप थापियो
वाणिज्य बैंकहरुमा एकै दिन करिब ६३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णय राष्ट्र बैंकले ल्याएसँगै वाणिज्य बैंकहरुमा उक्त निक्षेप थपिएको हो । यस्तै, उच्च ब्याजदर, लगानीका नयाँ आयामको अभाव, खस्किएको निजी क्षेत्रको मनोबललगायत कारण बजारमा कर्जा माग घटिरहेका बेला अर्थ मन्त्रालयको पछिल्लो निर्णयले वित्तीय प्रणालीमा उक्त रकम थपिएको विज्ञहरुले बताउने गरेका छन् ।