
- सुरेश भट्ट
कञ्चनपुर । वर्षभरी खानलाई जोहो गरिने धान बाली खेतमै सुकेपछि कञ्चनपुरको पुनर्वास नगरपालिकाका किसान चिन्तित भएका छन् । पालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारका तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर सखाप भएको छ । यस पहिले यो क्षेत्र डुबानमा परेको थियो । डुबान भएको पानी घटेपछि पुनः एकाएक धानबाली सुक्न थालेपछी किसान चिन्तित भएका हुन् ।
यि कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की उद्रीका देव बोगटी हुन् । उनले १० कट्ठा जमिनमा धान खेती गरेकी थिन्, तर धानबाली भित्र्याउने समय हुनै लाग्दा धानका बोट सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् । साउनको तेस्रो साता दोदा नदीको बाढी खेतमा पसेको थियो । बाढीले डुबानमा परेको क्षेत्र अहिले सुख्खा हुनथालेसँगै धानबाली सुक्दै गएको स्थानीयले बताए ।
खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानहरुको आशंका छ । सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको स्थानीय रमेश रानाले बताए ।
कञ्चनपुरका किसानको अन्दाजी २ सय ५० बिघा जमीनमा क्षती भएको छ । क्षतीको कारण थाहा पाउन यहाँको जमीनको माटो र पानी परिक्षणको कार्य भइरहेको छ । किसानलाइ राहातको सहजीकरणको लागि नगरपालिकाले तथ्यक संकलन गरी राखेको छ त्यसपछि संकलन गरेको नामावली सरकार समक्ष पेश गर्ने र सरकारबाट जे निर्णय हुन्छ त्यसै अनुसार राहात दिइने छ ।
किसानको क्षतीको मध्यनजर गरी सरकारले राहातको ब्यवस्था समयमै गर्न नसके पुर्नवासका किसान भोकमारीको चपेटामा पर्ने निश्चित छ ।