
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट पारे ।
ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताए । उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उहाँको स्मरणमा आफ्नो पार्टीले ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए ।
ओलीले भने, ‘हामी संविधान दिवस पनि मनाइरहेका छौं । र, जुन संविधान बनाउँदा संविधान बनाउने संविधान सभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङजी हुनुहुन्छ । यसपल्ट दुखद् कुरा हो । यस अगाडिका संविधान दिवसहरु हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौं । चाहे सरकारी तवर होस, चाहे गैरसरकारी तवरमा होस् । हामीले सधैँ मनाइरहेका छौं । र, उहाँको उपस्थिति हुने गर्दथ्यो । यसपल्ट उहाँको उपस्थिति नभएर सुवाष नेम्वाङ र संविधान भनेर संविधानमा सुवाष नेम्वाङको पदचिन्ह के छ, उहाँको कन्ट्रिब्युशन के छ ? उहाँका चिन्हहरु के छ ? उहाँले दिनुभएको दिशा निर्देश, गोरेटको के छ ? उहाँका योगदानका पत्रहरु के छन् ? ती विषयहरुमा हामी छलफल गर्छौैं, गरिरहेका छौं । थुप्रै साथीहरुले विचार राखिसक्नुभएको छ । अरु पक्षहरुमा म जान चाहन्न । आज संविधानको सन्दर्भमा, सुवासचन्द्र नेम्वाङजीको सन्दर्भमा, उहाँका योगदानको सन्दर्भमा मात्रै केन्द्रित भएर चर्चा गर्न चाहन्छु । त्यसर्थ म अहिले अरु विषयहरुतिर जान चाहिन । अरु विभिन्न सन्दर्भमाहरु आइहाल्छन् । त्यसमा चर्चा गरौँला । मलाई के लाग्छ भने आज देश जहाँ पुगेको छ ।’
अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे ।