बाबुराम झेल्न प्रचण्ड अनिच्छुक हुँदा यादव अग्रमोर्चामा

बाबुराम झेल्न प्रचण्ड अनिच्छुक हुँदा यादव अग्रमोर्चामा

काठमाडौं । संविधान जारी भएपछि नयाँ शक्ति निर्माणको संकल्पसहित छुट्टै पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई फेरि पुष्पकमल दाहाल `प्रचण्ड’सँग नै एकतामा आउने योजनामा थिए । गएको निर्वाचन अघि एकता हुने भावले हौसिएका बाबुराम प्रचण्डले फेरि वास्ता गर्न छाडेको आरोप लगाउदै विच्किए । असमझदारीकै कारण दूरी बढाएका उनीहरु नजिकिने भन्दा पनि अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पत्र पठाएपछि उनको पार्टीमा बबण्डर मच्चिएको छ ।

माओवादी छाडेपछि कुनैबेला बीबीसी नेपाली सेवाका लागि अन्तरवार्ता दिने क्रममा पुष्पकमल दाहाल ’प्रचण्ड’ले भनेका थिए, मैले बाबुरामजीलाई ३० वर्ष झेलें, कसैले एक वर्ष झेलेर देखाओस् । प्रचण्डको भनाईको सन्दर्भ थियो, बाबुराम अप्ठ्यारा मान्छे हुन भन्ने ।

नयाँ शक्ति निर्माणको ठूलो तयारीसहित लागेका बाबुरामले पार्टीलाई आकार दिन नसकेपछि उपेन्द्र यादव–महन्थ ठाकुरसहितको पार्टी गठन भयो । जनता समाजवादी पार्टीको बाबुराम संघीय परिषद् अध्यक्ष पनि बने । तर, उनी उपेन्द्रसँग पनि लामो समय रहिरहन भने सकेनन् । त्यसपछि उनले फेरि नेपाल समाजवादी पार्टी गठन गरे ।

केहि नेताहरुलाई लिएर नेसपा गठन गरेका बाबुराम माओवादी केन्द्रले लिएको राजनीतिक लाइन वा कम्युनिष्ट विचारधाराले मात्रै मुलुकको विकास समृद्धि नहुने भन्दै नयाँ प्रयोगकालागि रुचिकर देखिन्छन् । तर, शक्ति क्षयीकरणको भूमरीमा परेका उनले अन्ततः फेरि ३० वर्ष सहकार्य गरेका प्रचण्डलाई नै रोज्ने निर्णय गरे । र, माओवादीकै चुनाव चिन्ह लिएर चुनावमा गए । बाबुरामको यो निर्णयले खुशी देखिएका नेसपाका नेताहरु चुनावपछि भने विस्तारै बेखुस हुुनुपर्ने अवस्था आइलाग्यो । पार्टी एकताको सहमति नै जुटिसकेको बेला बाबुरामलाई प्रचण्डले फेरि संगै लिन इच्छा देखाएनन् ।

समाजवादी मोर्चा घोषणमा समेत प्रचण्डले बाबुरामलाई धोका दिए । उपेन्द्र यादवको संसदीय शक्तिका पछाडी बाबुराम छाँयामा परेपछि उनी प्रचण्डसँग थप चिढिन पुगे । त्यसपछि देशभर पार्टीको कार्यक्रम लिएर अघि बढेका बाबुराम यतिबेला भारतका विभिन्न शहरमा केन्द्रित छन् । यता भने माओवादी केन्द्रले प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरसहितको पार्टी एकता पहलको पत्र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पठाएपछि बाबुरामको पार्टीमा बबण्डर मच्चिन पुगेको छ ।

यादवले माओवादी केन्द्रको पत्रलाई स्वभाविक भनेपनि बाबुराम निकट नेताहरुले भने षडयन्त्रको रुपमा लिएका छन् । प्रचण्डले षडयन्त्रपूर्वक बाबुरामलाई बाइपास गर्दै पार्टी एकतामा जाने तयारी गरेको आरोप उनीहरुले लगाएका छन् । माओवादी केन्द्रका नेताहरु पनि बाबुरामको पार्टीका प्रभावशाली नेताहरुलाई तान्ने र बाबुरामलाई एक्ल्याउने रणनीतिमा देखिन्छन् । उसोतः यादवले बाबुराम भारतमा रहेकाले आफूलाई अध्यक्षको हैसियतमा पत्र आएको दाबी गरेका छन् ।

यादवले माओवादी केन्द्रसँग पार्टी एकता गरेपनि उनको सांसद पद सुरक्षित नै रहने देखिन्छ । माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेका यादवलाई बाबुरामको पार्टीले कारबाही गर्ने राजनीतिक अधिकार नै छैन । यसर्थ यादवले बाबुरामलाई छाडेर प्रचण्डसँग आएमा बाबुराम फेरि धोका पाउनेमा पर्नेछन् ।
प्रचण्डलाई चुनाव जिताएर राष्ट्रपतिमा जाने आकांक्षा राखेका बाबुराम प्रचण्डबाट धोका पाइरहेको देखिन्छन् । हुनत, प्रचण्ड आफैले अप्ठ्यारा नेताको रुपमा चिनाएका बाबुरामलाई भित्र्याउदा समस्या हुने देखेरै अर्का अध्यक्षसमक्ष पत्राचार गरेको हुन सक्ने आधारहरु देखिन्छन् । यद्यपी बाबुराम समाजवादी व्यवस्थामा अडिग रहेर फेरि प्रचण्डसँग मिसिएलान् वा उपेन्द्र यादवसँग जस्तै गरेर अर्को विषयमा प्रवेश गर्लान् ? यो भने भविष्यमै थाहा हुनेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *