काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरुको कार्यविभाजन गर्नुभएको थियो । अध्यक्ष नेपालले गरेको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरुले समेत असन्तुष्टि जनाउँदै आएका छन् ।
सोही प्रसंगलाई लिएर उनले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताए । उनले अनुशासनको ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताए । उनले पार्टीको हीत नचाहनेहरु फरक किसिमले चल्ने बताए । नमिलेका कुरालाई मिलाएर लैजान सकिने पनि उनले बताए ।
उनले भने, ‘पार्टीभित्र अनेकौँ समस्याहरु हुन्छन्, ति समस्याहरु पार्टीले नै हल गर्छ । बाहिर गीत गाएर हिँड्ने होइन । बाहिर नाचेर हिँड्ने कुरा भएन । केही समस्याहरु छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढंगले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान् । पार्टीको हीत चाहने एक ढंगले र अहीत चाहने अर्को ढंगले चल्छन् । कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ ।’
कार्यक्रममा बोल्दै उनले कृषि उत्पादनमा नेपाललाई राम्रो मुलुकका रुपमा विकसित गर्न सकिने बताए । उनले खाद्यान्न उत्पादन, कृषि उत्पादन,कृषिजन्य उद्योगधन्दाको विकास गर्ने हिसावले अघि बढ्न सुझाव दिए । कृषिको विकासमा जोड दिने हो भने देशको अर्थतन्त्र बलियो हुने उनले बताए ।