- सुजन चालिसे
काठमाडौँ । सात प्रदेशमध्ये कोशी प्रदेश सबैभन्दा अस्थिर रहेको छ । गएको पुस यता मात्रै चार पटक मुख्यमन्त्री फेरबदल भइसक्दा पनि कुनै पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था बनिरहेको छैन । पछिल्लो पटक सर्वोच्च अदालतको परमादेशबाट भदौ २२ गते हिक्मत कुमार कार्की नेतृत्वमा बनेको कोशी प्रदेशको बर्तमान सरकार पनि अल्पमतमा छ । राप्रपाकै साथ पाएर पनि विश्वासको मत नपूग्ने भएकाले अन्य दलको साथ एमालेलाई आवश्यक छ । यो कसरी सम्भव छ त ?
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सर्वोच्चले हिक्कमत कुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिदिए पनि उनलाई विश्वासको मत लिन कठिन छ । बजेट शुन्यतामा गएको अवस्थामा कोशीको मुख्यमन्त्री नियुक्त भएलगत्तै उनले अध्यादेशमार्फत बजेट त ल्याएका छन् तर प्रतिस्थापन विधेयक ल्याएर त्यसलाई पारीत गराउन समेत अप्ठ्यारो छ । संविधानको धारा १६८ को उपधारा ३ बाट बनेको ठुलो दलको नेतृत्वको सरकारले विश्वासको मत लिन नसके सरकार विघटन हुन्छ । त्यसपछि अन्तिम विकल्पको रुपमा रहेको उपधारा ५ बमोजिम कुनैपनि प्रदेशसभा सदस्यले बहुमत जुटाएर सरकार गठन गर्न सक्दछ । त्यसबाट पनि सरकार बन्न नसके प्रदेश मध्यावधि निर्वाचनमा धकेलिनेछ । तर दलहरु भने मध्यावधिमा जानै नहुने तर्क गरिरहेका छन् । जसका लागि सहमतिको विकल्प खोज्ने प्रयासमा पनि छन् ।
अब एमालेसँग सत्ता गठबन्धन फुटाउने, बहुमत जुटाउने एउटा मात्रै विकल्प छ । यसका लागि केन्द्रबाटै एमालेले कसरत थालेको छ । एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाललाई फकाएर केन्द्र र प्रदेश दुबैमा सांसद सङ्ख्या बढोत्तरीको योजना एमालेले बुनिरहेको छ । चारजना सांसद रहेको एकिकृत समाजवादीबाट १ जनामात्र सांसद तान्न सके राप्रपालाइ मनाएर एमालेले बहुमत जुटाउन सक्दछ । यद्यपी त्यसका लागि पार्टी विभाजन पहिलो सर्त हुन आउँछ । हाल संसद वा केन्द्रीय समितिमा ४० प्रतिशत बहुमत भए पार्टी विभाजन गर्न सकिने प्रावधान छ । केन्द्रमा १० मध्ये कम्तिमा ४ सांसदलाई मिलाएर एकिकृत समाजवादी फुटाउने कसरत एमालेले गरिरहेको छ । यसका लागि इलाममा झलनाथ खनाललाई नै उपनिर्वाचनको टिकट दिएर उम्मेदवार बनाउनेसम्मको कसरत एमालेमा भइरहेको छ । यसले गठबन्धनका अन्य दलहरुलाई झस्काइदिएको छ ।
केन्द्रमा एकिकृत समाजवादीभित्र देखिएको किचलोका कारण माधव–झलनाथ विभाजन गर्न सकिने विश्वास एमालेको छ । माधव र झलनाथले दिने गरेको सार्वजनिक अभिब्यक्तिले पनि विवाद उत्कर्षमै पुगिसकेको स्पष्ट छ । खनालले अलग बाटो रोज्ने आँट गरेमा एमालेले कोशी प्रदेशबाटै खनालसँग हात अगाडि बढाउने छ । तर सहजै समाजवादीमा विभाजन आइहाल्छ र एमाले नेतृत्वकै सरकारले विश्वासको मत पाउँछ भनेर अहिले नै यकिन गर्न भने मुश्किल छ ।